सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो। सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिए।काठमाडौं, मंसिर १० : पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको बताइएको छ।
भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिएका थिए। यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ। नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो।
भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो। सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिए।
प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को अन्तर–संसदीयसभा उत्कृष्ट मञ्च भएको बताएका थिए। उनले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको बताइएको छ।
भेटलाई दुई देश बीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।