Kathmandu Press

सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारू

सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दाबी गरेको छ। तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन्।
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारू

काठमाडौं, मंसिर ९ । सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दाबी गरेको छ। तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन्।

पाँच दिनदेखि नयाँ राहदानी बनाउन नपाएका सेवाग्राहीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा आइतबार होहल्ला समेत गरेका थिए। उनीहरुले छिटो सेवा सुरु गर्न माग गरेका थिए।

Hardik ivf

विभागका प्रवक्ता विवेक रिजालले करिब तीन दिनजति सेवा समस्या आएको बताए। तर आइतबारदेखि सेवा सुचारु भएको उनले दाबी गरे।

‘सर्भरमा तथ्यांक व्यवस्थापनमा केही समस्या आएको हो। तर आइतबारदेखि आंशिक रुपमा समस्या समाधान भइसकेको छ। विस्तारै अन्य समस्याहरु समाधान हुँदै जानेछ। के कारणले समस्या आएको हो भन्ने विषयमा अध्ययन भइरहेको र केही दिनमा प्रतिवेदन आएपछि मात्र त्यसबारेमा बताउन सकिन्छ,’ उनले भने।

विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी सेवा प्रभावित रहेको जानकारी दिएको थियो। तर आइतबार दिउँसोबाट सेवामा सहज भएको प्रवक्ता रिजालले जानकारी दिए।  

यद्यपि, विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ। समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले सम्पूर्ण सेवा छिट्टै समाधान हुने जनाएको छ। अत्यावश्यक सेवा सुरु भएको र सबैतिर सामान्य हुन केही दिन लाग्ने विभागको भनाइ छ। पुरानो अवेदकहरुको काम सुचारु भएको जनाइएको छ।

सेवा रोकिंदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन्। बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको थियो।

विभागले गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो।

प्रकाशित मिति: २०:२० बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्