दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।काठमाडौं, मंसिर ९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतले प्रसाईंमाथि अनुसन्धान गर्न थप पाँच दिन म्याद थप्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश कमला पौडेलको इसलासले प्रसाईं क्यान्सरको बिरामी भएकाले उपचारको प्रबन्ध मिलाउन पनि प्रहरीलाई आदेश दिएको छ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि मंसिर ४ गते पक्राउ गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको विवादास्पद भाषण गरेपछि उनी पक्राउ परेका थिए।
आइतबार सर्वोच्च अदालतले पनि प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको थियो। बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो।