उद्देश्य विपरीत सहकारी सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे
सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएको बताउँदै मन्त्री पाडेले जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने बताए।कास्की, मंसिर ७ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको बताएका छन्।
शुक्रबार जिल्ला सहकारी संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताए।
‘सहकारी संस्थाको उद्देश्य, मर्म र भावना विपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो,’ उनले भने।
सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएको बताउँदै मन्त्री पाडेले जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने बताए।
मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउने बताए।
‘सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दाेष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन,’ उनले भने।
करिब दुई करोडको लागतमा भवन निर्माण गरेको संघका अध्यक्ष सावित्रा कोइरालाले बताइन्। संघले डेरी उद्योग समेत सञ्चालन गर्दै आएको छ।