उपनिर्वाचनबारे प्रचण्डले भने- लक्षण राम्रै छ, परिणाम पनि राम्रै आउँछ
'पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत उपचुनावले गर्छ'गोरखा, कात्तिक ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताएका छन्।
गोरखा पार्टी कार्यालयमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै प्रचण्डले उक्त भनाइ राखेका हुन्।
प्रशिक्षणका क्रममा प्रचण्डले उपचुनावको लक्षण राम्रो देखिएको र परिणाम राम्रै आउने आशा गरेको बताए ।
‘उपचुनावको परिणामले हामी उकालो लाग्दै छौं कि छैन भन्ने संकेत गर्छ । यद्यपि यो चाहिँ सबै होइन । हारियो भने बर्बाद भयो भन्ने कुरा त छैन, तर लक्षण राम्रो छ,' अध्यक्ष प्रचण्डले भने।
उनले उपनिर्वाचनमा कांग्रेस, एमालेसँग तालमेल नगर्ने ‘ब्ल्याक एन्ड ह्वाइट’ निर्णय गरिएको समेत बताए ।
‘अर्काको खुट्टामा टेक्दा माओवादीको पहिचान हरायो, हामी एक्लै भिड्ने हो । एक्लै भिड्दा असली पहिचान र ताकत देखिन्छ,’ प्रचण्डले भने ।
कीर्तिपुरको मेयरमा समाजवादी मोर्चामा भएका विप्लव, उपेन्द्र यादव र एकीकृत समाजवादीको पनि समर्थन प्राप्त भएको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सहयोगका लागि छलफल भइरहेको जानकारी समेत प्रशिक्षण कार्यक्रममा दिएका थिए ।
उनले फागुनपछि काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलन गर्नुपर्ने अवस्था हुनसक्ने भनाइ प्रचण्डको थियो।
बाहिर भएको सभाले शासकलाई नछुने भएकाले काठमाडौं केन्द्रित गर्नुपर्ने भनाइ प्रचण्डको थियो।