उम्मेदवारी दिएको ठाउँमा रास्वपाको सर्कुलर- सरकारविरूद्ध कोण सभा गर्नू
उपनिर्वाचनलाई सरकारको प्रतिशोधविरूद्धको अभियानकै आन्दोलनका रूपमा अगाडि बढाउने निर्णय
काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार रहेको स्थानमा सरकारविरूद्ध कोण सभा गर्न सर्कुलर जारी गरेको छ।
बुधबार बसेको केन्द्रीय समितिको निर्णयअनुसार बिहीबार रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लोकोटीले पार्टीका उम्मेदवारी रहेको सबै प्रदेश समिति, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति, केन्द्रीय/प्रादेशिक/पालिका विभाग र निर्वाचन परिचालन समितिलाई सर्कुलर पठाएका हुन्।
सर्कुलरमा स्थानीय तह उपनिर्वाचनलाई सरकारको प्रतिशोधविरूद्धको अभियानकै आन्दोलनका रूपमा अगाडि बढाउने केन्द्रीय समितिको निर्णय भएकाले मंसिर ८ र ९ गते पार्टीको उम्मेदवार रहेका सबै स्थानमा कोणसभा आयोजना गर्न निर्देशन गरिएको छ।
मंसिर १६ गते मुलुकका विभिन्न ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ। त्यसमध्ये तीन स्थानमा निर्विरोध निर्वाचित भइसकेका छन्।
अब ४१ ठाउँमा मतदानमार्फत रिक्त स्थानमा पदपूर्ति हुनेछ।
४१ मध्ये २६ स्थानमा रास्वपाले उम्मेदवारी दिएको छ।
सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।
कास्की प्रहरीको हिरासतमा रहेका उनीविरुद्ध अहिलेसम्म चारपटक म्याद थप गरी अनुसन्धान भइरहेको छ।












