जिसस कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी भुल निर्विरोध निर्वाचित
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्।सुदूरपश्चिम, मंसिर ५ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्।
जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले आज उम्मेद्वारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए।
जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकी थिइन्। जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले उम्मेदवारी दिएका थिएनन्।
जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता रहेका थिए ।
दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ।