आन्दोलन गर्ने विषयमा रास्वपामा मत बाझियाे, आज फेरि अर्को बैठक
मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले बुधबारका लागी बैठक बोलाएको हो।काठमाडौं, मंसिर ५ : रास्वपा सभापति रवि लामिछानेको पक्राउविरुद्ध आन्दोलन गर्ने बिषयमा निश्कर्ष नआएपछि आज पुनः केन्द्रीय समितिको बैठक बोलाइएको छ।
सहकारी रकम अपचलन प्रकरणमा आन्दोलन सशक्त बनाउने बिषयमा मंगलबार भएको छलफलमा रास्वपाभित्र मतभेद देखिएको थियो।
आन्दोलनका बिषयमा छलफल गर्न बैठक आज दिउँसो ३ बजेलाई डाकिएको छ। दोस्रो चरणको आन्दोलनबारे धारणा बनाउन पुनः बैठक डाकिएको जनाइएको छ। कतिपय पदाधिकरी र केन्द्रीय सदस्यहरूको आन्दोलन गर्ने विषयमा विमती छ।
यसैबीच, आन्दोलनका बिषयमा ठोस धारणा नआएपछि उपसभापति डिपी अर्याल रास्वपा सभापति लामिछानेसँग सल्लाह गर्न भन्दै पोखरा पुगेका छन्।
सहकारीको बचत ठगी र संगठित अपराधको आरोपमा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परे यता रास्वपा आन्दोलनमा छ। लामिछानेलाई कास्की प्रहरीले अदालतबाट चौथोपटक म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ।
यता, रास्वपाका केन्द्रीय पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा समेत दायर भएको छ।