आईडिया स्टुडियो नेपालको आठौं सीजनका लागि आवेदन खुला
काठमाडौं, मंसिर ३ः आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले संयुक्त रूपमा आईडिया स्टुडियो नेपाल सिजन आठको आवेदन खुलाएका छन्।
आईडिया स्टुडियो नेपाल सिजन ८ को यस वर्षको नारा ‘अवरोधहरू तोड्दै, भविष्य निर्माण गर्दै’ रहेको छ। आठौं सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिँदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखेको छ।
गत कार्तिक ३० गते गरिएको पत्रकार सम्मेलनमा आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्ससँग जोडिएका नेपाल सरकारका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, आइडिया स्टुडियो नेपालका विभिन्न सिजनका आइडिएटर, साथै मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले यस सहकार्यको महत्व साथै उद्यमशीलतामा समावेशीताको भूमिकाको बारेमा बताए। उनले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र शीपको सदुपयोग भइनरहेको बताउँदै विदेशबाट फर्कने आप्रवासी नेपालीहरुका लागि लागि सुचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको जानकारी दिए।
‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने पहल ग¥यौं। त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि होइन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ। त्यसैले, अब चाहिँ त्यस्ता समूदायका व्यक्तिलाई प्राथमिकता दिन आवश्यक देखेका छौं। जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा.छिरिङ लामाले दलित लाईभ्स म्याटरसँगको सहकार्यबारे बताए।
लामाले थप भने, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेका आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुको मार्फतबाट हामी पहिलेझैँ आईडिया स्टुडियो सिजन आठ लिएर आएका छौँ। र, यसपटक थप समावेशी बनाउने प्रतिवद्धता पनि जनाउँछौँ।’
त्यस्तै, विदेशबाट फर्किएका नेपालीहरुले आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहनेगरी जन्मिएको नयाँ कार्यक्रम ‘आई.ए.जी सेन्टर’ मा जोडिएर योगदान दिनसक्ने छन्। जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक सञ्जाल साथै सञ्चारमाध्यम मार्फत आवेदन दिन सकिने पनि लामाले जानकारी दिए।
लामाले भने, ‘अहिले हाम्रो विश्वविद्यालयसँगको सहकार्यमा रिसर्च भईरहेको छ। यो अध्ययनमा चाहिँ बाहिरबाट आएका आप्रवासी नेपालीहरुहरु कसरी र के सीप बोकेर आएका छन् भनेर हेरिरहेका छौँ।’
साथै, आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रवद्र्धन गर्न इन्कुबेसन सेन्टरको स्थापना गरिने पनि लामाले बताए। ‘प्रभु आईडिया प्लस’ नाम दिईएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको छ।
दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदिप परियारले आइडिया स्टुडियो नेपालसँगको सहकार्यबारे बताउँदै भने, ‘सबै क्षेत्रमा अब्बल नेतृत्व विकास गरौँ, दलित र उत्पीडित वर्गले पनि उत्तिकै स्थान पाउन भनेर हामी निरन्तर क्रियाशील छौँ। त्यसैको शिलशिलामा उद्यमशीलताको क्षेत्रमा कसरी जोडिने र काम गर्ने भनेर सोचिरहेका थियौँ। जसको लागि आईडिया स्टुडियो नेपालले निरन्तर गरिरहेको कर्म हेर्दा यससँग जोडिएर काम गर्न सहज हुने ठान्यौँ। र, अब मेरो १५०० युवा उद्यमी तयार गर्ने सोचले सार्थकता पाउला भन्नेमा आशावादी छु। यसैगरी लागिरहे आउने ५० वर्षमा समावेशीकरणको कुराहरु गरिरहनु नपरोस् भन्ने अपेक्षा छ।’
आईडिया स्टुडियो नेपालको इकोसिस्टममा विभिन्न वित्तीय, शैक्षिक, र सरकारी संस्थाहरु समावेश छन्। यसै सन्दर्भमा डब्लुडब्लुएफ नेपालमा नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, सि.एन.आई.वाई.ई.एफका स्टार्टअप चेयर साइनी खेतान र फाइनान्स चेयर पुनित अग्रवालले आईडिया स्टुडियो नेपालसँगको सहकार्यबारे जानकारी दिए।
डा.गुरुङले समाजका हरेक संस्था र क्षेत्रमा विविधता भएमात्र उद्यमशीलताको क्षेत्रमा विविधता देखिने भएकोले आईडिया स्टुडियो नेपालको आठौँ सिजनको पहल सकारात्मक रहेको बताए। आजसम्म ग्रीनोभेसनमा प्राथमिकता दिएकोले यहाँका आईडिएटरले यो मुद्धा छोडेका छैनन्, र अब विविध समूदायका प्रतिनिधि यहाँ हुँदा आईडिया स्टुडियो नेपाल अझै नयाँ र बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
स्टार्टअप चेयर साइनी खेतानले भने सि.एन.आई.वाई.ई.एफसँग विभिन्न क्षेत्रमा काम गरेका उद्यमी भएकाले त्यहाँको अनुभव र विज्ञतालाई आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा प्रयोग हुने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै, फाइनान्स चेयर पुनित अग्रवालले पनि आईडिया स्टुडियाका आईडिएटरलाई ईन्भेस्टमेन्ट देखि मेन्टरसीप प्रदान गर्नेसम्मका कुरामा आफूहरु साथ रहने बताए।
कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिए। त्यस्तै, सिजन ७ का आइडिएटर मोटर सेवा प्रा.लि. (घरमै कार मर्मत सेवा) का सह–संस्थापक सुदर्शन शिवाकोटी र सिजन ३ की आइडिएटर तथा नेपाल मेडकी संस्थापक सुप्रिया शाक्यले आइडिया स्टुडियोसँगको आफ्ना अनुभवहरू कार्यक्रममा बाँडेका थिए।
आइडिया स्टुडियो सिजन १ का आइडिएटर अनिल बस्नेतले भने, ‘हामीसँग भएको फाउन्डर्स क्लबमा आईडिया स्टुडियो नेपाल सिजन एक देखि सातसम्मकै गरी १३१ जना सफल व्यवसायि जोडिनुभएको छ। उहाँहरुसँग सहकार्य गर्दै विभिन्नसहयोग आदानप्रदान गर्ने कुरामा म प्रत्यक्ष जोडिएर काम गर्न सकिरहेको पनि आईडिया स्टुडियोसँगको सहयात्राकै उपज हो। त्यस्तै, आईडिया स्टुडियोकै अर्को प्रोडक्ट आईमार्ट (अनलाइन लोकल मार्केट प्लेस) पनि सञ्चालन गरिरहेको छु। यसरी यहाँका आईडिएटरलाई अन्तराष्ट्रिय संघसंस्थाबाट पनि इन्भेस्टमेन्ट आएको छ। जसले हामीजस्ता आईडिएर र व्यवसायीलाई धेरै लाभ पु¥याउने छ।’
त्यस्तै, सिजन ७ का आइडिएटर सुदर्शन सिवाकोटीले आईडिया स्टुडियोमा जोडिएपछि धेरै लाभ लिन सकेको बताए। मोटर सेवा नामक व्यवसाय सञ्चालन गरिरहेका उनले भने, ‘सुरुमा यहाँ आउँदा हामी एउटा आईडियामात्र थियौँ। तर, अहिले प्रत्यक्ष रुपमा १० जनालाई र २० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छौँ। यो सबै आईडिया स्टुडियो नेपालकै इन्कुबेशन र मेन्टरसीपको प्रभाव हो।’
सिजन ३ की आइडिएटर तथा नेपाल मेडकी संस्थापक शाक्यले पनि आईडिया स्टुडियो नेपालमा आएर आफ्नो व्यवसायिक योजना बजारसम्म पुर्याउन धेरै सहयोग पुगेको अनुभव सुनाइन्। नेपाली बजारको लागि नौलो आईडिया भ्यालिडेट र बजारीकरणमा सहयोग गरेकोमा आईडिया स्टुडियो नेपाललाई धन्यवाद पनि दिइन्।
‘विशेषगरी महिलालाई व्यवसाय सञ्चालन गर्न चार कुरा– टाईम, मनी, इनर्जी, पारिवारिक सहयोग आवश्यक हुन्छ। यससँगै आईडिया स्टुडियो नेपाल जस्तो संस्था पनि जरुरी हुन्छ, जुन मैले प्राप्त गरेर आज यो स्थानमा पुग्न सफल भएको छु,’ उनले भनिन्।
कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक तथा मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरी समापन मन्तव्य राख्दै आईडिया स्टुडियो नेपाल सीजन ८ को आवेदन खुलेको कुरा जानकारी गराएका थिए। कार्यक्रम समापन गर्दै ठकुरीले भने, ‘अहिले नेपालजस्तो मुलुकमा उद्यमशीलतालाई सहयोग गर्ने यस्तो संस्था अत्यावश्यक छ। जुन दिन सबै राम्रो हुन्छ, त्यो दिन आईडिया स्टुडियो नेपाल जस्ता संस्थाको आवश्यकता नै पर्दैन। त्यो दिन छिटै आओस्। तर, त्यो दिन आउन हामी सबैको सहकार्य र मेहनत आवश्यक छ। जुन कुराको निरन्तरता आठौँ सिजनको पनि हुने विश्वास दिलाउँछु। कार्यक्रमलाई यसपटक थप समावेशी बनाउन पनि हामी गृहकार्यमा छौँ।’