रवि र छविविरूद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी
काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएपछि लामिछाने र जोशीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।काठमाडौं, मंसिर २ । सहकारी ठगी र संगठित अपराधको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार सभापति लामिछाने र पूर्वडीआइजी छविलाल बन्जाडे जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारीको बचत अपचलनमा लामिछाने र जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सहकारीका ६४५ जनाले उनीहरूविरूद्ध जाहेरी दिएको बताइएको छ। यो सहकारीको अध्यक्ष पनि जिबी राई हुन्। उनी भने फरार छन्।
लामिछाने र जोशी दुवैजना अहिले कास्की प्रहरीको हिरासतमा छन्। दुवैलाई यसअघि रूपन्देही लगिएको थियो। रूपन्देहीमा तीन दिन बयान लिएर रविलाई पुनः कास्की पठाइएको थियो।
रूपन्देहीमा सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएपछि लामिछाने र जोशीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।