Kathmandu Press

'यात्रु भोकभोकै लाइनमा छन्, सरकार र जनप्रतिनिधि वास्ता गर्दैनन्'

के भन्छन् बसपार्कमा घर जाने टिकट काट्न आएका यात्रुहरू (भिडियो)
'यात्रु भोकभोकै लाइनमा छन्, सरकार र जनप्रतिनिधि वास्ता गर्दैनन्'

काठमाडौं, असोज १५ । दशैं नजिकिएसँगै उपत्यका छाड्ने क्रम सुरू भएको छ।

सरकारले सोमबारदेखि देशभर परमिट खुला गरिसेको छ। काठमाडौंको नयाँ बसपार्कमा घर जाने टिकट लिनेहरूको बाक्लो भीड लाग्न थालिसकेको छ।

बिहीबार बिहानदेखि शनिबार रातिसम्म परेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू अवरूद्ध छन्। सरकारले यथाशीघ्र सडक खुलाउने घोषणा गरिसकेको छ।

Hardik ivf

सडकको अवरोध चाँडै हट्ला र सहजै गाउँ फर्किन पाऔंला भन्ने आशमा टिकट लिने मानिसहरूको लामो लाइन छ।

काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको विर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ।

सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटिरहेका भेटिन्छन्।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरुको भनाइ छ।

काठमाडौंको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकूलका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन्।

लगातार तीन दिन अविरल वर्षा काठमाडौं जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरु बढी मर्कामा परेका हुन् ।

तर अविरल बर्षा सकिएको पछिल्लो तीनदिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरुमा अक्रोशित देखिन्छन् । सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरु आक्रोशित बनेका हुन्।

यात्रुहरुले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दशैंको लागि भनेर विदेशबाट नेपाल आएका छन्। काठमाडौंबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट सुनिए। नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका बिष्णु पराजुलीको भनाइ छ।

‘सडक अवरुद्द छ । विदेशबाट आएको तीन दिन भइसक्यो । सडक अहिलेसम्म खुलेको छैन। धेरैजना काठमाडौंमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ । यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने ।

यो पनिः देशभरि रूट परमिट खुल्यो, तर ४५ ठाउँमा अवरूद्ध छ सडक

पराजुलीलाई जस्तै अन्य यात्रुहरुलाई पनि दशैंको समयमा घर पुग्न उत्तिकै हतार  छ ।

अर्का यात्रु रमेश क्षेत्री अझै बढी आक्रोशित सुनिए। उनी वैदेशीक रोजगारीबाट फर्किएका रहेछन्। उनीपनि घर जानकै लागि बसको टिकट लिने लाइनमा रहेछन्।

बसपार्कमा टिकट लिन दुईतीन दिनदेखि मानिसहरू भोकभोकै पानी पनि नपिई लाइनमा रहँदा पनि सरकार र जनप्रतिनिधिले वास्ता नगरेको उनको गुनासो छ।

‘म विदेशबाट आएको हुँ । म सँग त पैसा होला तर तीन दिनसम्म टिकटको लागि बसपार्कमै भोकै बसेका धेरै जना छन् । गाडी होल्ड हुँदा यहीँ काठमाडौं  क्षेत्रका जनप्रतिनिधिहरुले यात्रुहरुप्रति ध्यान दिनुपर्ने होइन?’ उनले भने।

क्षेत्रीले काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे । 

बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल परेको बताए। 

‘हप्ता दिन हुनलाग्यो यता बसेको, धेरै आपत आइलागिसक्यो । विपतको समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन् । सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरु अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो । फसेका यात्रुहरुलाई उद्दार गर्न कुनै सरकारी निकाय पुगेन । मरिसकेपछि लासमात्र गन्नका लागि सरकार उद्दारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो,’ उनले भने।

उनले जनताको समस्यामा नपुग्ने जनप्रतिनिधिहरु बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरुलाई थर्काएको गुनासो पोखे।

यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अत्रपत्र पर्नुपर्ने अवस्था नआउने बताए। उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरु आफ्नो आफ्नो घर पुगिसक्ने बताए।

सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए। सरकारसँग गुनासो भएपनि यात्रुहरुलाई टिकटमा समस्या नभएको उनीहरुको भनाइ छ।

तर पहाडी जिल्लाहरुमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरु थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटडका काठमाडौं साखा प्रमुख रमेश गौतमले बताए । उनले यात्रुहरुले दुःख नपाउन् भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए ।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारवाही गरिने बताए । उनले गाडी सडक अवरुद्द हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन्। बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको भीड अत्याधिक भएपनि हाल भीड घट्दै गएको बताउँछन् ।

‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं,’ उनले भने ।

भिडिओ: 

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्