देशभरि रूट परमिट खुल्यो, तर ४५ ठाउँमा अवरूद्ध छ सडक
कुन सडक कहाँ अवरूद्ध छ ? (सूची)काठमाडौं, असोज १४ : सरकारले देशैभरिको रूट परमिट खुला गरेको छ।
सोमबार (आज) देखि लागू हुनेगरी सरकारले देशैभरि रूट परमिट खुला गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
यसअघिका वर्षहरूमा घटस्थापनादेखिमात्रै रूट परमिट खुलाइनेमा यसपालि घटस्थापना आउन तीन दिन बाँकी छँदै परमिट खुलाएको हो। आजदेखि खुलाइएको रूट परमिट दसैंको पूर्णिमासम्म लागू हुन्छ।
त्यसबेला सम्म सार्वजनिक यातयातका साधनहरूलाई देशैभरि यात्रा गर्दा परमिट आवश्यक रहँदैन। सरकारले रूट परमिट खुला गरेपनि मुख्य मुख्य सडक नै तत्काल खुल्ने सम्भावना देखिँदैन।
गत बिहीबार बिहानदेखि शनिबार बेलुकासम्म परेको मुसलधारे पानीका कारण मुख्य राजमार्ग विभिन्न स्थानमा अवरूद्ध छन्। सडक विभागकै विवरण अनुसार सोमबारसम्म विभिन्न १५ वटा राजमार्गका ४५ ठाउँमा सडक अवरूद्ध छ।
विभागका अनुसार तमोर करिडोर मोरङमा, कान्ति लोकपथ मकवानपुर र ललितपुरमा,विपी राजमार्ग काभ्रेको दुई ठाउँमा, ग्वार्को-लुभु-लाकुरीभञ्ज्याङ-कुशादेवी-पनौती-दाहालटार सडक ललितपुरमा अवरूद्ध छ।
पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुलीको १० ठाउँमा अवरूद्ध छ। विभागका अनुसार अक्करे भीर, हर्जेनी, बलेनी, सालघारी, नेपालथोक, कुखुरेटार, त्याउ खोला, फिक्कल, रिठ्ठाबोट,भोरूंगे लगायतका स्थानमा अवरूद्ध छ।
त्यस्तै पाँचथरको फिदिमनजिक मेची राजमार्ग, सिन्धुपाल्चोकको लार्चामा अरनिको राजमार्ग,पश्चिम रूकुमको त्रिवेणीमा भेरी करिडोर, धनकुटाको ओख्रेमा भेडेटार सडक,
धादिङको भुट्टारमा ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक अवरूद्ध छ।
त्यस्तै पाल्पा, उदयपुर, रामेछापमा विभिन्न राजमार्गहरू विभिन्न स्थानमा अवरूद्ध छ।
कुन राजमार्ग कहाँ छ अवरूद्ध ?
सरकारले अवरूद्ध सडक यथाशीघ्र खुलाउने भनेपनि केही स्थानहरूमा चाँडै सडक खुल्ने सम्भावनै छैन। विपी राजमार्गमा सडकको भाग नै पहिरोले बगाएको छ। विभिन्न सडकहरू विभिन्न स्थानमा भासिएका छन्।
अवरूद्ध सडक चाँडै खुल्ने सम्भावना नरहेपछि यसपालि हवाई यात्रुको संख्या बढ्ने आकलन गरिएको थियो। सडक अवरूद्ध भएलगत्तै विभिन्न एयरलाइन्सहरूले हवाई भाडा बढाएका समेत थिए। पछि विरोध भएपछि भाडा बुधाबारसम्म यथास्थितिमा राख्ने निर्णय भएको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नै अमेरिकाबाट काठमाडौं फर्किएका छन्। उनले राहत उद्धार र पुनस्थापनाका सन्दर्भमा तीव्र गतिमा काम हुने बताएका छन्।