आईपिएलको अन्योल कायमै, निर्णय ३ मे पछि मात्रै
काठमाडौं, वैशाख २ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण विश्वकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपि....

काठमाडौं, वैशाख २ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण विश्वकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल)को अन्योलता कयामै रहेको छ। सुरुमा आईपिएल २९ मार्चदेखि सुरु हुने भनिएको थियो, तर कोरोनाका त्रासका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आईपिएल १५ अप्रिलसम्मका लागि स्थागित गरेको थियो।
भारतीय सरकारले सोमबार ३ मेसम्मका लागि लकडाउन लम्ब्याएपछि आईपिएल हुने÷नहुने झन अन्योल सिर्जना भएको छ। सरकारले अर्को महिनासम्मका लागि लकडाउन लम्ब्याएसँगै धेरैले यो वर्ष आईपिएल असम्भव भएको बताएका छन्।
आईपिएल के गर्ने भन्ने विषयमा बिसिसिआईले भने कुनै निर्णय गरेको छैन। बिसिसिआई स्रोतका अनुसार आईपिएलको विषयमा ३ मेपछि निर्णय गर्ने तयारी बिसिसिआले गरेको न्यूज एजेन्सी एएनआईले उल्लेख गरेको छ। बिसिसिआई स्रोतले भनेको छ, ‘सरकारले ३ मेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै हामीले पनि आईपिएल ३ मेसम्मका लागि स्थागित गरेका छौं । त्यसपछि के हुन्छ, त्यतिबेलै निर्णय हुन्छ।’
आईपिएल स्थागित हुँदा क्लब, खेलाडी र बिसिसिआईलाई पनि ठूलो घाटा हुने हुनाले तत्कालै निर्णय गरिहाल्ने अवस्थामा बिसिसिआई छैन। केही समयअघि कोषाध्यक्ष अरुढा धुमालले आईपिएलको भविष्यलाई लिएर फैसला गरिहाल्ने अवस्था बिसिसिआई नरहेको बताएका थिए।











