Kathmandu Press

दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड

उनले विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा बलियो बनाउनु दायित्व रहेको पनि बताए ।
दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् । 

अभियानको उद्घाटन गर्दै शनिबार प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आम नागरिकलाई यस अभियानमा जोडिन आव्हान गरेका हुन् ।  

‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्,’ उनले भने।

उनले विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा बलियो बनाउनु दायित्व रहेको पनि बताए । 

‘आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो। सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं,’ उनले भने । 

प्रचण्डले अभियानमार्फत जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याइ समाधानका लागि निरन्तर पहल गरिने बताए । साथै, उनले जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने समेत बताए । 

‘जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ। जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,’ उनले भने । 

नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेता नारायण काजी श्रेष्ठलगायतका अग्रज नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, कात्तिक ७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्