काठमाडौंबाट पश्चिम जाने हवाई रुट परिवर्तन, निगमको दोहा उडान रद्द
काठमाडौं, फागुन १६ : भारत र पाकिस्तानको तनावले नेपालको हवाई क्षेत्रमा समेत असर परेको छ । पाकिस्तानले सवै हवाई सेवा बन्द गर्दै ‘एयर स्पेस’ ....
काठमाडौं, फागुन १६ : भारत र पाकिस्तानको तनावले नेपालको हवाई क्षेत्रमा समेत असर परेको छ । पाकिस्तानले सवै हवाई सेवा बन्द गर्दै ‘एयर स्पेस’ प्रयोगमा प्रतिवन्ध लगाएसंगै नेपालबाट पश्चिमतर्फ जाने उडानको रुट परिर्वतन भएको छ ।
‘अहिले उक्त क्षेत्रको तनावले गल्फ र युरोप जाने एयरलाइन्सहरुले रुट परिवर्तन गरेकोले विमास्थलले सोही अनुसार व्यवस्थापन गरेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव बाबू तिवारीले काठमाडौं प्रेससँग भने ।
जम्मू–कश्मीरको सिमानामा भारत र पाकिस्तानबीच भएको तनावपछि नेपालबाट गल्फ र युरोप जाने सबै जहाजले पाकिस्तानको एअर स्पेस प्रयोग नगर्ने गरी उडान तालिका मिलाएको तिवारीले जानकारी दिए । अहिले एयरलाइन्सहरुले एल ३०१ रुट प्रयोग गरेर गन्तव्यमा गइरहेका विमानस्थल कार्यलयको भनाई छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कतार, इत्तेहाद, एयर अरेविया, फ्लाइ दुबई, टर्किस एअरलाइन्स, नेपाल वायुसेवा निगम लगायत एयरलाइन्स कम्पनीले पाकिस्तानको एअर स्पेस प्रयोग गर्दै आएकोमा बुधवार देखि उक्त रुट प्रयोग गरेका छैनन ।
रुट मिलाउने क्रममा केही उडानहरुमा ढिलाई हुने समस्या भने विमानस्थलमा देखिएको छ । दुई देशबीचको तनावले हवाइ सुरक्षाका हिसाबले भारत तथा पकिस्तानमा विमानस्थलहरु बन्द गरिएका छन् ।
यसैबीच नेपाल वायुसेवा निगमले रुट मिलाउन नसक्दा दोहा उडान रद्द गरेको छ । निगमले बिहिबार रुट मिलाउन नसकेपछि उडान रद्द गरेको हो । ‘हामीले व्यवस्थापन मात्रै गर्ने हो, रुट मिलाउने काम एयरलाइन्सको हो,’ प्रवक्ता तिवारीले भने ।