Kathmandu Press

कांग्रेसले रवि लामिछानेमाथि लगाएको आरोप पुष्टी भएकोबारे गगन थापाले प्रस्तुत गरेका तीन आधार

रास्वपामा सभापतिले गरेको पापको भारी बोक्ने प्रतिस्पर्धा चलेको छ : महामन्त्री थापा
कांग्रेसले रवि लामिछानेमाथि लगाएको आरोप पुष्टी भएकोबारे गगन थापाले प्रस्तुत गरेका तीन आधार

काठमाडौं, असोज २ ।  सहकारी बचत अपचलनको छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आफ्ना अध्यक्ष रवि लामिछाने निर्दोष ठहर भएको  र समितिले उनलाई क्लिन चिट दिएको दाबी गर्दै ‍आएका छन्। 

संसदीय छानबिन समितिमै रहेका शिशिर खनाल र पार्टीका उपसभापति रहेका स्वर्णिम वाग्लेले सार्वजनिक रूपमै सहकारी बचत अपचलनमा आफ्ना अध्यक्षले क्लिन चिट पाएको र उनीमाथि लागेको सहकारी ठगी गरेको ट्याग सदाका लागि मेटिएको दाबी गर्दै आएका छन्। 

यद्यपि सत्तापक्ष दलका नेताहरू र स्वयम् छानबिन समितिका सभापति सूर्य थापाले रवि लामिछाने निर्दोष छन् भनेर प्रतिवेदनले नभनेको बरू दोषी ठहर गर्दै प्रचलित नियमानुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन्। 

Hardik ivf

सहकारी बचत अपचलनमा संसदीय छानबिन समितिको माग जोडतोडले उठाएको कांग्रेसले हो। त्यही विषयलाई लिएर प्रतिनिधि सभामा लामो समय बैठक अवरूद्ध गरेको कांग्रेस नेताहरूले प्रतिवेदन सार्वजनिक भएपछि रवि लामिछाने  लगाइएको आरोप पुष्टी भएको बताएका छन्। 

कांग्रेसको एक महिने विशेष अभियानको बुधबार शुभारम्भ गर्ने क्रममा महामन्त्री गगन थापाले लामिछानेमाथि आफूहरूले लगाएको आरोप प्रतिवेदनले सत्य पुष्टी गरिदिएको बताए। समितिले गोर्खा मिडियामा सहकारीबाट करोडौं पैसा आएको भेटेको बताए। 

'हामीले छ भन्ने आरोप लगाएका थियौं। समितिले त्यो भेट्टायो,' उनले भने। लामिछानेमाथि कांग्रेसले लगाएको दोस्रो आरोप पनि प्रतिवेदनले पुष्टी गरिदिएको महामन्त्री थापाले बताए। 

'कम्पनीमा ल्याउन पाउँदैन भन्ने कुरा संसदमा पनि उठाएका थियौं। समितिले एक सुका पैसा पनि कानुनी बाटोबाट लगिएको होइन। सरासर गैरकानुनी हो भेनर लेख्यो। तेस्रो कुरा यदी गैरकानुनी हो भने गैरकानुनी काम गर्ने को हो? थाहा पाउनुपर्‍यो र थाहा पाएर कारबाही गर्नुपर्ने भनेका थियौं,' उनले भने 

त्यसमा समितिले गैरकानुन काम गर्नेको नामै किटेको महामन्त्री थापाले बताए। 

'निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छबिलाल जोशी कम्पनीमा साझेदारको रूपमा बहाल रहेको अबधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित  कानुनबमोजिम कारबाही गर्न सिफारिस गर्ने भन्ने प्रतिवेदनमा छ,'

उनले प्रचलित कानुनबारे पनि बताए। लामिछाने लगायत समितिले दोषी भनेका व्यक्तिहरूलाई सहकारी कानुनको दफा १२२ को (त) आकर्षित हुने उनले बताए। राप्रपा सांसद गीता बस्नेत पनि सोही कानुनअनुसार दोषी ठहर भएको उनले बता। 

उक्त दफाले सहकारीमा बसेर ठग्ने र बाहिर बसेर लैजान नपाउने रकम सहकारीबाट लैजाने पनि ‍ठग हुने व्यवस्था गरेको बताउँदलै उनले मुलुकी अपराध संहिताले पनि कुनैपनि कम्पनी भन्नाले मालिक र एमडी हुन् भन्ने विश्लेषण गरेको बताए। 

प्रतिवेदनले गोर्खा मिडियाको बीऊ पुँजी नै सहकारी ठगेर ल्याइएको बताए। 

चेक काटेको तर पैसा कह‍ाँबाट आएको थाहा भएन भन्ने रवि लामिछानेको दाबीलाई प्रतिवेदनले गलत भनिदिएको पनि उनले बताए। रवि लामिछाने दोषी हुन् भन्ने ठहर प्रतिवेदनले तयार भएप‍छि त्यसलाई स्वीकार गरेर समितिमा सदस्य रहेका रास्वपा सांसद शिशिर खनालले पनि हस्ता‍क्षर गरेका थिए। 

'मेरो पार्टीको सभापतिले कीर्ते गर्नुभएकाले कीर्तेमा उहाँलाई मुद्दा चलाउनुपर्छ। ठगी गर्नुभएकाले ठगीमा मुद्दा चलाउनुपर्छ भन्ने लेखेर सिग्नेचर गर्नुहुन्छ। छट्टु भन्ने कि के भन्ने! बाहिर आएर राम्रोसँग काम गरेर आएँ, तपाईंलाई एउटा पनि दोष लागेको देखिनँ। तपाईं क्लिन हुनुभाछ भनेपछि सर्रर ताली बजाउँछ,' उनले भने। 

केहीले आफ्ना नेताले अरूले पस्केको खाएको दाबी गरेको पनि महामन्त्री थापाले बताए।  'हाम्रो अध्यक्षले खानुमात्रै भएको हो। अर्काले पस्केको खाएको त हो नी भन्छ एउटाले । ६५ करोड खानु त भएको हो। तर घुमाएर खानुभएको हो भन्छन्,' थापाले भने।   

उनले रास्वपामा सभापतिको पापको भारी कसले बोक्ने भन्ने बढी प्रतिस्पर्धा रहेको बताए।  'त्यहाँको अध्यक्षको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ। उ ले पनि ताली बजाएको छ। पार्टीको नाम स्वतन्त्र छ। मान्छे कोही पनि स्वतन्त्र छैनन्,' उनले भने। 

कांग्रेस आफै सरकारमा भएका कारण संसदीय छानबिन समितिको निर्देशन पालना गरी प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा कांग्रेसको पनि रहने बताए। 

कांग्रेस उपसभापति धनराज गुरूङबारे उठेको प्रश्नबारे पनि छानबिन गर्न सरकारलाई आग्रह गरिएको उनले बताए। 

यो पनिः सहकारी अपचलनको विषय उठान गरेकोमा देउवाले दिए गगनलाई धन्यवाद 

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्