Kathmandu Press

करोडौंँको केरा बारीमै सड्दै

कैलाली, चैत ३० : देशमा लकडाउन भएसँगै कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन्। किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बार....

करोडौंँको केरा बारीमै सड्दै

कैलाली, चैत ३० : देशमा लकडाउन भएसँगै कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन्। किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो।

करोडौंँ मूल्य पर्ने केरा बारीमा सड्न थालेको किसानहरुको गुनासो छ। 'केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो। केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ,' कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भन्छन,'हामी त घाटामा गयौं,  दैनिक लाखौंँको केरा खेर गइरहेको छ।'  

शाहले अहिलेसम्म करीब ३० लाख रुपैयाँको केरा नोक्सान भइसकेको बताउछन्। 'अझै कति दिन लकडाउन हुन्छ थाहा छैन। केरा दैनिक बोटमै पाकेर झर्न थाले,' उनले भने,'यो आउंँदो वर्षका लागि तयार हुंँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो। लकडाउनका कारण कामदार पनि घर फर्किएका छन्। केराको स्याहारसमेत गर्न सकिएको छैन।' ८० बिघामा केरा खेती गरेका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ। 

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले  ११ लाख रुपैयाँ बराबरको केरा खेर जाने अवस्था आएको बताउँछन्। तेह्र बिघामा व्यावसायिक रुपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक तीन सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन्। 'बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु,' चौधरी भन्छन्, 'उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ। के गर्ने, विश्व नै समस्यामा छ।'

अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुंँवर पनि करीब २७ लाख रुपैयाँ बराबरको केरा कुहिएर खेर गएको बताउँछन्। 'टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ,'  कुंँवर भन्छन,'हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ।'

कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ। केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम  नगरपालिकाले पनि सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्