Kathmandu Press

स्वास्थ्यमन्त्रीको सक्रियतामा तनहुँको जीपी श्वासप्रश्वास केन्द्रलाई ३ सय शैय्या बनाउने प्रक्रिया सुरु

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन्।
स्वास्थ्यमन्त्रीको सक्रियतामा तनहुँको जीपी श्वासप्रश्वास केन्द्रलाई ३ सय शैय्या बनाउने प्रक्रिया सुरु

काठमाडौं, साउन ३२ : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ।

अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गरेका थिए। 

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन्। डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ। 

मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन्। दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको स्वासप्रस्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० जनरल वार्ड मात्र छन् । जसका कारण स्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन।

डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा। रामकुमार श्रेष्ठले बताए । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा. श्रेष्ठले बताए। अस्पतालले थप सात सय शैय्यासहित एक हजार शैय्या बनाउने दीर्घकालिन लक्ष्य राखेको छ। 

यसका लागिसमेत थप पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन्। तनहुँ स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको गृह जिल्ला समेत हो।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, साउन ३२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्