पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जित
पर्थमा भएको पहिलो टेस्टमा भारतले अस्ट्रेलियामाथि २९५ रनको विशाल जित निकालेको छ।काठमाडाैं, मंसिर १० : बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलमा भारतले अस्ट्रेलियामाथि सानदार जित निकालेको छ। पर्थमा भएको पहिलो टेस्टमा भारतले अस्ट्रेलियामाथि २९५ रनको विशाल जित निकालेको छ।
योसँगै भारतले ५ खेलको सिरिजमा १–०को अग्रता लिएको छ। अब दोस्रो टेस्ट एडलेडमा डे–नाइट हुनेछ। खेल डिसेम्बर ६ बाट सुरु हुनेछ।
५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियालाई चौथो दिन २३८ रनमा अलआउट गर्दै भारतले जित निकालेको हो। अस्ट्रेलियाका लागि त्रविस हेडले सर्वाधिक ८९ रन बनाउँदा मिचेल मार्सले ४७ र एलेक्स क्यारीले ३६ रनको योगदान दिए।
बलिङमा भारतमा जस्प्रित बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिँदा वासिङ्टन सुन्दरले २ तथा हर्षित राना र नितिशकुमार रेड्डीले समान १ विकेट लिए।
पहिलो इनिङमा १५० रनमै अलआउट भएको भारतले दोस्रो इनिङमा भने उत्कृष्ट ब्याटिङ गरेको थियो। उसका लागि यशस्वी जैसवाल र विराट कोहलीले शतक बनाएका थिए।
पहिलो पटक अस्ट्रेलियामा खेलिरहेका जैसवालले १६१ रन बनाउँदा कोहलीले १ सय रन बनाए। कोहलीको यो टेस्टको ३०औं र अस्ट्रेलियामा सातौं शतक हो। यस्तै, केएल राहुलले ७७ रनको रन बनाए। उनले जैसवालसँग पहिलो विकेटका लागि २०१ रनको साझेदारी गरेका थिए।
पहिलो इनिङमा १५० रनमा अलआउट भएको भारत घरेलु टोलीलाई १०४ रनमै अलआउट गर्दै खेलमा फर्किएको थियो। र, उनले पहिलो इनिङमा महत्वपूर्ण ४६ रनको अग्रता लिएको थियो।
अस्ट्रेलियाको इनिङ धरासयी बनाउने क्रममा बुमराहले ५ विकेट लिए भने रानाले ३ र मोहम्मद सिराजले २ विकेट लिए।
कुल ८ विकेट लिँदै भारतलाई जित दिलाएका कप्तान बुमराह प्लेअर अफ दी म्याच भए।