रिहा भए रोनाल्डिन्हो
काठमाडौं, चैत २६ : ब्राजिलयन पूर्व फुटबल स्टार रोनाल्डिन्हो रिहा भएका छन्। नक्कली पासपोर्ट बोकेको अभियोगमा पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका....

काठमाडौं, चैत २६ : ब्राजिलयन पूर्व फुटबल स्टार रोनाल्डिन्हो रिहा भएका छन्। नक्कली पासपोर्ट बोकेको अभियोगमा पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइलाई पाराग्वे प्रहरीले मंगलबार रिहा गरेको हो।
रोनाल्डिन्हो र भाइ रोबर्टोलाई मुद्दाको पूर्ण फैसला नहुनेजेलसम्मका लागि रिहा गरिएको पाराग्वे प्रहरीले जनाएको छ। न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गरिएको बताएका छन्। रोनाल्डिन्हो दाजुभाइ नक्लकी पासपोर्ट बोकेको आरोपमा एक महिनाअघि पक्राउ परेका थिए। लगत्तै उनीहरुलाई स्थानीय अदालतले ६ महिना जेल सजाय सुनाएको थियो।
उनीहरुका विषयमा ब्राजिल सरकारसँग सम्मन्वय गरेर निर्णय गर्ने पाराग्वे सरकारले तयारी गरेको छ। उनीहरुसँग ब्राजिलकै पासपोर्टसमेत नभएको बताइएको छ। रोनाल्डिन्हो दोषी पाइए उनलाई पाराग्वे प्रहरीले जुनसुकैवेला नियन्त्रणमा लिन सक्ने छ।
बार्सिलोनाका पूर्व स्टार खेलाडी रोनाल्डिन्हो विश्वकप र बालोन डि’अर विजेता खेलाडी हुन्। उनले सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकप जितेका थिए भने बार्सिलोनाबाट सन् २००५ मा बालोन डि’अर जितेका थिए।
१७ वर्ष लामो फुटबल करिअरमा उनले कुल ८१६ खेल खेल्दै १३३ गोल गरेका छन्। जसमा उनले ब्राजिलका लागि ९९ खेलमा ३३ गोल गरेका छन्।
सन् २०१३सम्म राष्ट्रिय टिमबाट खेलेका रोनाल्डिन्होले स्थानीय क्लब ग्रेमिओबाट फुटबल करिअर सुरु गरेका थिए भने ब्राजिलकै अर्को क्लब फ्लुमिनेसमा ३४ वर्षको उमेरमा करिअरको अन्त्य गरेका थिए।











