सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमी : सभापति थापा

काठमाडौं, साउन १५ : संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको टिप्पणी गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चात उनले सहकारी समस्याको मुख्य कारण संयन्त्र निर्माण गर्ने गरि कानून निमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनि भएको बताए।
‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमी भएको छ । कानून आवश्यकता अनुसारको संयन्त्र निमार्ण गर्ने गरि बनेका छैनन्,’ उनले भने, ‘बचतकर्ताहरुले पनि कुन सहकारी, को सञ्चालक भन्ने कुरा नबुझी पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ।’
उनले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्ने बताए।
‘गरिबी निवारणमा सहकारी भूमिका महत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्छ। सहकारीलाई उत्पादनमा सेवा प्रवाहमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ,’ उनले भने।
आजको बैठकमा देशभरबाट सुशासनमा चलेका सहकारीका प्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो। तर त्यस मध्य ३४ जना उपस्थित थियो।












