नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना
राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेको बताए।
काठमाडौं, साउन १५ : नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन्।
चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताए।
राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेको बताए।
उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।
‘यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ,’ राजदूत छनले भने।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताए।
नेपाल र चीनबीचको सम्बन्ध सरकारीस्तमा मात्र नभई जनस्तरमा पनि प्रगाढ बन्दै गएको बताउँदै उहाँले जनता–जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवद्र्धनका लागि उपयोगी भएको बताए। उनले प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।