लैंगिक विभेदका अवशेषलाई मेटाउँदै नयाँ इतिहास रचौं : अध्यक्ष नेपाल
उनले धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई अधिकार प्रदान गरेको उल्लेख गर्दै कुनै पनि किसिमको भेदभाव गर्न संविधानले पनि अनुमती नदिने बताए।
काठमाडौं, साउन १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रच्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौमा आयोजित ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरुको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई अधिकार प्रदान गरेको उल्लेख गर्दै कुनै पनि किसिमको भेदभाव गर्न संविधानले पनि अनुमती नदिने बताए।
‘भाई भएनि बहिनी भएनि, छोरा भएपनि छोरी भएपनि कुनै भेदभाव गर्न पाइदैन्। नेपालको संविधानले पनि अनुमति दिँदैन। नेपालको कानूनले पनि स्विकार गर्दैन् । हाम्रो मान्यता पनि महिलाहरुलाई समान अधिकार दिनुपर्छ भन्ने हो,’ उनले भने, ‘यही समान अधिकार दिने शिलशिलामा नै धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई धेरै अधिकार प्रदान गरेको हो। त्यसकारण विद्यार्थीहरुले पुरानो इतिहासलाई हेरेर नयाँ इतिहास रचने हो।’
आफू रक्षामन्त्री हँुदा महिलाहरुलाई नेपाली सेनामा भर्ति गर्ने प्रचलनको सुरुवात गरेको अध्यक्ष नेपालले बताए।
‘नेपाली महिलाहरु कातर छैनन्, नेपाली सेनामा महिलाहरुलाई भर्ती गर्ने सुरुवात गरियोस, नोट गरेर राख्नु म रक्षा मन्त्री थिए र नेपाली सेनामा महिलाहरुको भर्ना सुरु गरियो,’ उनले भने।
अध्यक्ष नेपालले हामीलाई योग्य बनाउने काम आमा बुबाले गरेको भन्दै आफ्नो परिवारको लागि केही गर्नको लागि सबै विद्यार्थीहरुलाई मेहेनत गर्न आग्रह गरेका छन्।












