डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएकाे छ।
काठमाडौं, असार ३१ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ।
योसँगै पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ भने सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ।
डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ रुपैयाँ तथा सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० रुयैयाँ पुगेका छ।
निगमले एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो।












