सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण
मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन्।
काठमाडौं, असार ३१ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेका छन्।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन्।
मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिएका छन्।
‘नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु,’ उनले भने, ‘मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला।’
गण्डकी प्रदेशको मुख्यमान्त्री रहिसकेका गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसकेका छन्।












