आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उपयुक्त क्षेत्र हो : अध्यक्ष दाहाल
सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताए।
काठमाडौं, असार ३१ : राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताएका छन्।
सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताए।
‘विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसक्ने हो भने नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिन्छ। नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ, उनले भने, ‘गौतमवुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर र खोंचसमेत नेपालमै रहेको छ। नेपालमा पर्यटनका प्रचुर सम्भावना भएपनि पर्यटनको विकास हुन नसकेको यथार्थ हामीसामु छ।’
बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु आजको मुख्य समस्या भएको दाहालको भनाइ छ। दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा मुलुक प्रतिदिन परनिर्भर हुँदै गइरहेको दाहालले बताए।












