उदाउँदो राजनीतिज्ञको अवसान
‘पिँढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन् मलाई सम्झेर’
दुई महिनाअघि लोकगायक बुद्धिकृष्ण लामिछानेको निधनमा श्रद्धाञ्जलि दि....
‘पिँढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन् मलाई सम्झेर’
दुई महिनाअघि लोकगायक बुद्धिकृष्ण लामिछानेको निधनमा श्रद्धाञ्जलि दिँदा रविन्द्र अधिकारीले उनैको गीत उद्धृत गरेका थिए– सामाजिक सञ्जालमा । कसैले पनि अनुमान गरेका थिएनन्– त्यही भाषा यत्ति चाँडै उनैका लागि अरुले लेख्ने दुःखद् दिन आउला भनेर ।
२०२६ बैशाख २२ गते कास्कीको साविक भरतपोखरी गाउँ पञ्चायतमा जन्मेका थिए– रविन्द्र । परिवारका जेठा छोरा थिए उनी । उनका माता लक्ष्मी र पिता इन्द्रप्रसाद, पत्नी विद्या भट्टराई अनि १७ र १२ वर्षका दुई छोरा छन् ।
पहिलो संविधानसभा निर्वाचन जितेपछि उनले विकास अभियन्ताको रूपमा आफूलाई परिचित गरेका थिए– संसद्को विकास समितिको सभापति भएपछि । समिति सभापति हुँदा विकासको बहसलाई नयाँ उच्चाई दिन उनी सफल थिए । अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन अभियान नै चलाएका थिए । एक जना व्यावहारिक युवा राजनीतिज्ञको छवि बनाएका उनी ‘भिजन’ भएका नेताका रूपमा चिनिन्थे । उनको आफ्नो पार्टीमा मात्र हैन, समग्र राजनीतिमै एउटा उदाउँदो राजनीतिज्ञको स्थान बनाएका थिए उनले ।
गाउँकै शान्ति उदय माविबाट ०४१ सालमा एसएलसी गरेका थिए उनले । पिता शिक्षक भएकाले घरमा पढ्ने वातावरण थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा २०४२ सालमा भर्ना विद्यार्थी राजनीतिकमा सक्रिय भए । २०४५ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियु सदस्यमा निर्वाचित उनी त्यसै वर्ष अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष भएका थिए ।
२०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वबिद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भएका थिए ।
त्रिविका स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरुको सम्मानमा अभियान चलाएका उनले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस चलाएका थिए । अर्थशास्त्रका प्राध्यापक तारापद चौधरीलाई वरिष्ठ प्राध्यापकको उपाधि दिलाउन उनको पहल थियो ।
गायक प्रवीण गुरूङलाई तत्कालीन शाहज्यादा पारस शाहको गाडीले ठक्कर दिएर हत्या गरेको विरोधमा तत्कालीन विद्यार्थी नेता अधिकारी उभिएका थिए, ०५७ सालमा । अखिलका तत्कालीन अध्यक्ष थिए– अधिकारी । ‘हत्यारा बस्ने दरबारमा हैन, जेलखानमा हो’ भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबार लगेर बुझाएका थिए । सार्वजनिक यातायातमा ३३ प्रतिशत विद्यार्थी सहुलियत उनकै नेतृत्वमा भएको आन्दोलनको परिणाम हो । जुन अझै कायम छ ।
व्यवस्थापनमा स्नातकोत्तर रविन्द्र बोल्नमा मात्र हैन, लेख्नमा पनि उत्तिकै कुशल थिए । उनी समाज बुझेका र गलत काम गर्न लाज मान्ने युवा नेता थिए । ‘वाइड बडी खरीद काण्ड’ मा आफूलाई जबर्जस्ती जोडेकोप्रति उनी गम्भीर थिए । यसमा छानबिन गरी सत्य बाहिर ल्याउनुपर्छ भन्ने पक्षमा थिए ।
पञ्चायत विरोधी आन्दोलनमा पटक–पटक गरी छ महिना जेल बसेका थिए उनी । ०६१ माघ १९ को कदमपछि राजा ज्ञानेन्द्रको सक्रिय शासनमा करिब पाँच महिना जेलमा बिताएका थिए ।
२०६० मा एमालेको कास्की जिल्ला कमिटी सचिव भएर काम गरे । ०६४ सालको पहिलो संविधानसभामा जित्ने एमालेका ३३ जनामध्ये उनी एक थिए । त्यसपछि दोस्रो संविधानसभा (०७०) र ०७४ सालको चुनावमा संघीय संसद्मा गरी लगातार तेस्रो पटक निर्वाचित भए । रविन्द्र एक वर्षअघिसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका थिए ।
राजनीति र विकासलाई एकअर्काका परिपुरक ठान्थे उनी । विकास समितिको सभापति हुँदा विकासमा केही हस्तक्षेप गर्न सक्रियता बढाएका थिए । उनको ‘समृद्द नेपाल’ र ‘संविधानसभा, लोकतन्त्र र पुनर्संरचना’ भन्ने दुई कृति पनि प्रकाशित छन् ।