अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले जनाए।
काठमाडौं, असार २० : नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन गर्ने भएको छ।
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले जनाए।
‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ,’ उलने भने, ‘पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्छ।’
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।