टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उनले बताए।
काठमाडौं, असार १९ : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ।
सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उनले बताए।
‘विधेयकमा सहमति जुटाउनेगरी छलफल सुरु गरेका छौं। आज विशेषगरी मानवअधिकारको गम्भीर उल्लंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटना र प्रभावित व्यक्ति तथा महान्यायाधीवक्ताले गम्भीर मानवअधिकार उल्लंघनका विषयमा गर्ने मागदाबीलगायत चार विषयमा सहमतिमा छलफल भयो, चाँडै असमतिका विषयलाई निष्कर्षमा पुर्याउँछौं,’ उनले भने।
कार्यदल सदस्य रमेश लेखकले टिआरसी विधेयकमा सहमति जुटाउन बैठकमा सकारात्मक छलफल भएको बताए। अर्का सदस्य जनार्दन शर्माले आजको छलफल सकारात्मक ढंगले अगाडि बढेकाले चाँडै असहमतिबारे चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषयमा सहमतिका लागि केही दिनअघि सहजीकरण कार्यदल गठन गरिएको थियो। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको सहमतिमा कार्यदल गठन गरिएको हो।
कार्यदलमा कांग्रेसबाट लेखक, एमालेबाट बर्तौला र माओवादीबाट शर्मा सदस्य छन्। कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका चार बुँदामा छलफल गरी साझा धारणा बनाउने छ।










![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)
