स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयप्रति पूर्वमाओवादीतर्फका मन्त्री असन्तुष्ट
काठमाडौं, चैत २१ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयप्रति पूर्वमाओवादीत....
काठमाडौं, चैत २१ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयप्रति पूर्वमाओवादीतर्फका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन्।
मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई जानकारी समेत नदिई स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णय गरिएको भएको भन्दै पूर्वमाओवादीतर्फका मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन्। मन्त्रिपरिषद् बैठकको यो निर्णयबारे आफूहरूलाई जानकारी नै नदिएर निर्णय गरिएको भन्दै उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर असन्तुष्टि पोखेको स्रोतले जनाएको छ।
सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश नगरी एकै पटक निर्णय पुस्तिकामा लेखिएको उनीहरुको आरोप छ।
काठमाडौंप्रेससँग कुराकानी गर्दै पूर्वमाओवादीतर्फका एक मन्त्रीले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको भन्ने जानकारी आफूहरुले सञ्चारमाध्यमबाटमात्रै थाहा पाएको बताए।
पछिल्लो मन्त्रिपरिषद् बैठकले जी-टु-जी मोडलमा ती सामग्री खरिद गर्ने गरी सेनालाई जिम्मेवारी दिने गरेको निर्णय बिहीबार सार्वजनिक भएको थियो। मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयबारे पूर्वमाओवादीको कोटामा मन्त्री भएकाहरुले सुइँको समेत नपाएको ती मन्त्रीले बताए।
'पछिल्लो मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी सेनालाई दिने भन्ने विषय बैठकको एजेन्डामै थिएन,' ती मन्त्रीले काठमाडाैं प्रेससँग भने, ‘सुरूमा एजेन्डा के-के हुने भनेर मुख्यसचिवले सबै मन्त्रीलाई पत्र बाड्न्नुहुन्थ्यो। तर, आइतबारको बैठकमा पत्र नै दिइएन। अर्थमन्त्री युवराज खतिवडाले भारत र चीनसँग जी-टु-जीमार्फत काम गर्ने प्रयास गरेका थियौं तर सफल भएनौं मात्रै भन्नुभएको थियो। मैले कतै भुले कि भनेर अरू मन्त्रीलाई पनि सोधें तर उहाँहरूलाई पनि थाहा रहेनछ।’
उनले सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने निर्णय गलत भएको बताए। ‘कोरोनाले देशमा ठूलो भयावह र महामारी सिर्जना गरेको अवस्था होइन। त्यस्तो अवस्थामामात्रै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अगाडि सार्ने हो। अहिलेको अवस्थामा सेनालाई जिम्मा दिनु ठीक होइन,’ उनले भने।
सेनालाई अघि सारिएपछि झलनाथको प्रचण्डलाई फोन
सरकारले सेनालाई मेडिकल सामग्री खरिदको जिम्मा दिने निर्णय बिहीबार सार्वजनिक भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णयको माइन्युटमा सेनालाई मेडिकल सामग्री खरिदको जिम्मा दिने भन्ने बुँदा थपेका थिए। मेडिकल सामग्री सेनालाई खरिदको जिम्मेवारी दिइएको भन्दै सरकारको निर्णयप्रति सार्वजनिक रुपमा चर्को आलोचना भइरहेको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनबाट अत्यावश्यक मेडिकल सामग्री ल्याउँदा अनियमितता भएको कुरा बाहिरिएपछि त्यसबारे अध्यक्ष प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका थिए। उनले मेडिकल सामग्री किन्न सेनालाई जिम्मा दिनुपर्ने अवस्था किन आयो ? त्यसबारे पनि स्पष्ट पार्नुपर्ने अध्यक्ष प्रचण्डसँग माग गरेका थिए।
प्रचण्डसँग भएको कुराकानीबारे पूर्वप्रधानमन्त्री खनालले भने,‘मैले अध्यक्ष प्रचण्डलाई फोन गरेर अनियमितताबारे तत्काल बैठक डाक्न भनेको छु। मेडिकल सामग्री ल्याउँदा अनियमितता भएको हो-होइन के हो ? पार्टीमा स्पष्ट हुनुपर्छ भनेको छु। उहाँले सल्लाह गर्छु भन्नुभएको छ।’
यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेसनसँग चीनबाट स्वास्थ्य सामग्री खरिदको सम्झाैता गरेको थियो। तर, ओम्नीले बजार भाउभन्दा महँगोमा स्वास्थ्य उपकरण खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि स्वास्थ्य सेवा विभागले बुधबार सम्झौता रद्द गरेको थियो।