कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिको रगतले जोगाउन सक्छ जीवन
न्यूयोर्क सिटीका अस्पताल कोभिड १९ बाट निको भएका व्यक्तिको रगतबाट एन्टिडोट बनाउने तयारीमा छन्।
एन्टिबडी भएको रगत बिरामीको शरीरमा प्रवेश गराउने शताब्दीयौ....
न्यूयोर्क सिटीका अस्पताल कोभिड १९ बाट निको भएका व्यक्तिको रगतबाट एन्टिडोट बनाउने तयारीमा छन्।
एन्टिबडी भएको रगत बिरामीको शरीरमा प्रवेश गराउने शताब्दीयौं पुरानो पद्धतीले शहरलाई जोगाउने अनुसन्धाताले आशा गरेका छन्। अहिले न्यूयोर्क सिटी महामारीको केन्द्रविन्दु बनेको छ। इटालीको सघन उपचार सेवा यति चापमा छ कि सास फेर्नलाई भेन्टिलेटर चाहिने बिरामीलाई फिर्ता पठाइँदैछ।
चीनमा पनि कोभिड १९ बाट निको भएका व्यक्तिको प्लाज्माबाट एन्टिबडी भएको रगतको अंश, रेड ब्लड सेल होइन ¬ यस्तो गर्ने प्रयास गरिएको थियो। यी अध्ययनहरूले अहिलेसम्म प्रारम्भिक नतिजा मात्रै दिएका छन्। सार्स र इबोला महामारी हुँदा पनि “कोन्भालेसेन्ट प्लाज्मा” पद्धती खासै सफल भएको थिएन।
तर अमेरिकी अनुसन्धाताहरू भरपूर एन्टिबडी भएको दाताको रगत छनोट गर्ने र सबैभन्दा बढी फाइदा पुग्ने बिरामीलाई दिएर उपचारको महत्व बढाउने आशामा छन्।
तत्काल उपलब्ध हुने यो विधिको मुख्या फाइदा हो। औषधि र खोप विकास हुन महिनौं वा वर्षौं लाग्नसक्छ। भाइरस र अन्य संक्रामक तत्वको परीक्षण गरेर यसरी रगत “इन्फ्युज” गर्नु तुलनात्मक रूपम सुरक्षित देखिन्छ।
“प्रत्येक बिरामीलाई आइसियुबाट बाहिर राख्नसक्नु ठूलो उपलब्धि हुनेछ। अस्पतालहरू अहिले खचाखच छन्,” रोचेस्टरस्थित मायो क्लिनिकका एनस्थेसियोलोजिस्ट माइकल जोयनरले भने,“चाँडो गर्नुपर्छ। न्यूयोर्कजस्ता स्थानमा समस्या बढ्न दिनु हुँदैन।”
मार्च २३ मा न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले यो विधि प्रयोग गर्ने योजनाको घोषणा गरेका थिए। अहिले त्यहाँ २५ हजारभन्दा धेरै संक्रमित छन्। २१० जनाको मृत्यु भइसकेको छ।
अनुसन्धाताकै प्रयासका कारण युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले आवश्यक बिरामीका लागि प्लाज्माको आकस्मिक प्रयोग स्वीकृत गर्ने जनाएको छ। चाँडोमा आउने सातादेखि न्यूयोर्कका दुई अस्पताल माउन्ट सिनाइ र अल्बर्ट आन्स्टाइन कलेज अफ मेडिसिनले बिरामीको उपचार यो विधिबाट गर्ने जोयनरले बताए।
पहिलो चरणपछि कोभिड १९ को उच्च जोखिममा रहेका नर्स र डाक्टरका लागि पनि यो विधि उपलब्ध हुने अनुसन्धाताले आशा गरेका छन्। यसले रोगको रोकथाम हुनसक्छ र अस्पतालमा खटिन सहयोग पुग्नेछ।
अमेरिकाका शैक्षिक अस्पतालहरू उपचार विधिको प्रभावकारिताबारे ठोस प्रमाण जुटाउन परीक्षण गर्ने योजना बनाइरहेका छन्। औषधिको दाँजोमा रोगबाट निको भएका व्यक्तिको रगत सस्तो हुन्छ। महामारीले आक्रान्त जनुसुकै देशमा पनि पाइन्छ।
नेचर डट कमबाट