टी–२० विश्वकपः क्यानडासँगको वार्मअप खेलमा नेपाल पराजित
काठमाडौं, जेठ १५ः आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ। क्यानडाले नेपाललाई ६३ रनले हराएको हो।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी रंगशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो। जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपाल १९.३ ओभरमा १२० रन बनाएर अलआउट भयो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै, अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए।
बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले २–२ तथा कलिम साना र परगत सिंहले १–१ विकेट लिए।
यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय इनिङ खेले। उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए। यस्तै, रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए। उनले एक चौका र चार छक्का प्रहार गरे। नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करन केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए।
नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्नेछ। जेठ १९ गतेदेखि सुरु हुने आइसीसी टी–२० विश्वकपका नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डससँग खेल्नेछ।