आफू निर्दोष रहेको संसदमा रविको दाबी
‘सहकारी ठगीमा मेरो संलग्नता छैन। मलाई कहीँ कतै अभियोग लगाइएको छैन। विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु।
काठमाडौं, जेठ ६ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन्।
दुई महिनापछि संसदमा बोल्न पाएका लामिछानेले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन। मलाई कहीँ कतै अभियोग लगाइएको छैन। विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु।
‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं,’ उनले भने।
साथै उनले संसदमा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन् ।
‘आश्चर्यको विषय आफूलाई लोकतान्त्रिक भन्ने दलले सदनमा सांसदलाई बोल्न दिने कि नदिने भन्ने निर्णय आफ्नो दलको निर्णयबाट गर्ने रहेछ। कांग्रेसले सदनमा अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गर्यो भन्नेजस्ता विषय सुनियो । त्यस्तो निर्णय भएछ । त्यो लोकतन्त्रको कुन अभ्यास हो ?,’ लामिछानेले भने।
लामिछानेले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको दाबी गरेका छन् । उनले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको बताए । उनले सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको बताए।












