Kathmandu Press

एमालेविरुद्धको घेराबन्दी तोड्न अहिलेकाे सत्ता समीकरण आवश्यक परेको हो : पृथ्वी सुब्बा गुरुङ

मुलुकमा स्थिरता कायम गर्न, अवरुद्ध भएको विकास र समृद्धिको अभियानलाई गति दिन, स्वाधीनताले मुर्झाएको आन्दोलनलाई अझ सशक्त बनाउन एमालेले समीकरणमा जोड दिएको उनले बताए।
एमालेविरुद्धको घेराबन्दी तोड्न अहिलेकाे सत्ता समीकरण आवश्यक परेको हो : पृथ्वी सुब्बा गुरुङ

काठमाडाैं, वैशाख ८ : नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी सत्ता समीकरणमा आबद्ध भयो भन्दैमा ढुक्क भएर बस्ने अवस्था नरहेको बताएका छन्। 

एमालेको सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले ललितपुरको च्यासलमा आज आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रममा बोल्दै उनले त्यस्ताे बताएका हुन्। राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा उभ्याउन अनुकूल वातावरण बनाउने हिसाबले एमालेले सत्ता समीकरण गरेको भए पनि अब सबैथोक भइहाल्छ भनेर ढुक्क बस्न नहुने उनकाे भनाइ थियाे।  

एमालेविरुद्ध भएको घेराबन्दी तोड्न पनि सत्ता समीकरण गर्नुपरेको उनले स्पष्ट पारे। ‘सरकारमा गएपछि हामी घेराबन्दीबाट मुक्त भयौं। चक्रव्यूहबाट बाहिर आयौं। अब हामीलाई काम गर्न, जनताका बीचमा जान सजिलो भयो,’ उनले भने, ‘एमालेलाई मुलुकको निर्णायक शक्तिका रूपमा स्थापित गर्न र मिसन ८४ लाई सफल पार्न अहिलेको सत्ता समीकरणले सजिलो गराउनेछ।’ आगामी २०८४ मा हुने निर्वाचनसम्म समीकरण जोगाइराख्नुपर्ने आवश्यकता पनि उनले औंल्याए। ‘समीकरण जोगाउन भनेर नै एमालेले कुनै आग्रह-पूर्वाग्रह राखेको छैन । नत्र यहाँ गृहमन्त्री खाने कि अर्थमन्त्री खाने भनेर अरूसँग लडाइँ परिसक्थ्यो।’ मन्त्रालयका लागि लडाइँ गरेर समीकरण भत्काउनेतिर नलाग्ने रणनीति पार्टीले अंगीकार गरेको उनको भनाइ थियो।

Hardik ivf

मुलुकमा स्थिरता कायम गर्न, अवरुद्ध भएको विकास र समृद्धिको अभियानलाई गति दिन, स्वाधीनताले मुर्झाएको आन्दोलनलाई अझ सशक्त बनाउन एमालेले समीकरणमा जोड दिएको उनले बताए। अबका दिनमा आफ्ना साझेदार दलका नेता–कार्यकर्तालाई नहोच्याउन, उनीहरूलाई उत्तेजित बनाउने खालका अभिव्यक्ति दिँदै नहिँड्न उनले सुझाव दिए। तर उनीहरूसँग सबै कुरा मिलिसक्यो भन्ने नठान्न पनि उनले नेता–कार्यकर्तालाई सचेत गराए।
उनले बलियो एमालेले मात्र सबै कम्युनिस्टहरूलाई एकताको सूत्रमा बाँध्न सक्ने, स्वाधीनतामाथिको आक्रमणलाई पार लाउन सक्ने, सुशासन कायम गर्न सक्ने, शान्ति सुव्यवस्था कायम गर्न सक्ने जिकिर गरे। ५१ प्रतिशत जनताले विश्वास गर्न सक्ने ठाउँमा एमालेलाई नपुर्‍याएसम्म यो मुलुकमा स्थिर सरकार बन्न नसक्ने तर्क उनले गरे। 

उपमहासचिव गुरूङले पार्टीमा पछिल्लो समय दक्षिणपन्थी अवसरवाद, गुटवाद, व्यक्तिवाद मौलाउँदै गएको धारणा पनि राखे। ‘दक्षिणपन्थी अवसरवादका कारण आधिकारिक नेता र निर्णयलाई नमान्ने तर गुटको निर्णय र नेतालाई भने मान्ने प्रवृत्ति देखिएको छ,’ उनले भने। यस्तो अवस्थाले गर्दा पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले यो मुलुकमा जनताको बहुदलीय जनवाद (जबज) काे बाटोमा नहिँडेको कुनै पनि कम्युनिस्ट पार्टी नभएको दाबी पनि गरे। ‘जबज भनेकै प्रतिस्पर्धामा विश्वास गर्नु हो, बहुदलीय प्रतिस्पर्धालाई मान्नु हो,’ उनले भने, ‘त्यसकारण माओवादी, एकीकृत समाजवादी, मोहनविक्रम सिंहको पार्टी, विप्लवको पार्टी, सिपी मैनालीको पार्टी, नारायणमान बिजुक्छेको पार्टी सबै जबजको बाटोमा हिँडेका छन्।’ सबैले समाजवादलाई आफ्नो लक्ष्य भन्ने गरेकाले तिनीहरू एमालेकै बाटोमा हिँडिरहेको दाबी उनले गरे। उनले भने, ‘यसकारण पनि अब सबै कम्युनिस्ट पार्टीलाई एमालेमा समाहित गर्नु जरुरी छ।’ उनले अन्य कम्युनिस्ट पार्टीहरूलाई ‘ससाना  पसल’ थापेर नबस्न आग्रह पनि गरे। एमालेको ‘सुपरमार्केट’मा नुनदेखि सुनसम्म पाइने भएकाले चिया मात्र बेचेर, नुन मात्र बेचेर नबस्न भन्दै उनले ससाना कम्युनिस्ट पार्टीहरूमाथि व्यंग्य प्रहार गरे। 

उनले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) सँग एमालेको सिद्धान्त मिल्ने भए पनि शीर्ष नेताहरूको मन नमिलेसम्म एकता हुन नसक्ने बताए। त्यसकारण नेकपा एसका कार्यकर्ताहरूलाई खुरूखुरू एमालेमा ल्याउनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा सिन्धुली जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष महेन्द्रदेव श्रेष्ठले २०८४ मा एमालेलाई बहुमत दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नयाँ योजनाका साथ अघि बढे पार्टी र मुलुक दुवै बन्न सक्ने उनकाे भनाइ थियाे। सहिद आजादले रगत बगाएको ठाउँमा विविध कारणले पार्टीले कतिपय ठाउँमा हार बेहोर्नुपरेकोमा दुःख व्यक्त गर्दै उनले आगामी दिनमा एमालेको पक्षमा जनमत तयार पारेर जित हात पार्ने विश्वास व्यक्त गरे। 

राष्ट्रिय अस्मितासँग गाँसिएको ऐतिहासिक धरोहर सिन्धुलीगढीमा पर्यटकीय विकास बढिरहेको, ऐतिहासिक महत्वकाे हरिहरपुरगढी रहेको, राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सन अन्तिम चरणमा पुगेको, प्रमुख राष्ट्रिय सडकहरू पनि रहेकाले सिन्धुली जिल्लाले व्यापक सम्भावना बोकेको हुँदा सिन्धुलीवासी भाग्यमानी हुँदाहुँदै मानव विकास सूचकांकमा भने वाग्मती प्रदेशमा १३औं नम्बरमा हुनु दुखद भएको उनले बताए। जिल्लाको समृद्धिका लागि बहसको आवश्यकता रहेको र त्यो अभिभारा अब एमालेले बोक्ने उनको भनाइ थियो। ‘प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्दै उद्योगधन्दाको विकास गरी रोजगारीको सिर्जना गर्नु जरुरी छ,’ उनले भने, ‘यसका लागि योजना बनाएर अघि बढ्ने विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु।’

कार्यक्रममा मञ्चका अध्यक्ष बद्रीविक्रम काफ्ले, उपाध्यक्ष बीना श्रेष्ठ, सचिव कमल पुलामी मगरलगायतले भूगोल कमिटी र सम्पर्क कमिटीबीच उचित समन्वयको अभाव हुने गरेको र त्यसलाई मिलाउन सके आगामी दिनमा पार्टीको विस्तार, विकास र निर्वाचनमा सफलता प्राप्तिमा लागि सहज हुने धारणा व्यक्त गरे। कार्यक्रममा सिन्धुली जिल्ला कमिटीमा हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाईसहित सम्मान-पत्र प्रदान गरिएको थियो।  

              

             


    
 

प्रकाशित मिति: १४:११ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्