अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिँदै
काठमाडौं, फागुन १३ : चैत दोस्रो साता राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले ६ दिने मेला सञ्चालन गर्न लागेक....

काठमाडौं, फागुन १३ : चैत दोस्रो साता राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले ६ दिने मेला सञ्चालन गर्न लागेको हो ।
महासंघले चैत १४ देखि १९ गतेसम्म चल्ने मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा स्टल बुकिङ भएको छ । त्यस्तै, नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भएको महासंघले जनाएको छ ।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न मेला सशक्त माध्यम बन्दै आएको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । उनले यस पटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले समेत मेला अवलोकन गर्ने बताइन् । त्यस्तै, एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन सहयोग पुग्ने बताइन् ।
तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्यान्डलगायतका देशको सहभागिता रहने छ ।
यसमा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरु रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने जनाएको छ ।
महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताए ।
महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल समेत हुने बताए । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव एक लाख अवलोकनकर्ता आउन अपेक्षा गरिएको छ ।










-1754206481.jpg)