६ लाख बीमित, जलविद्युतमा साँढे दुई अर्ब लगानी
काठमाडौँ, फागुन १२ : राष्ट्रिय बीमा संस्थानले व्यक्तिगत र संस्थागत गरेर बीमितको संख्या ६ लाख पुगेको जनाएको छ ।
संस्थानका अनुसार, व्याक्तिगत ....

काठमाडौँ, फागुन १२ : राष्ट्रिय बीमा संस्थानले व्यक्तिगत र संस्थागत गरेर बीमितको संख्या ६ लाख पुगेको जनाएको छ ।
संस्थानका अनुसार, व्याक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार र तीन लाख कर्मचारीको सावधिक जीवन बीमा गरेर ६ लाख पुगेको हो । संस्थानले आफ्नो स्थापनाको ५२ वर्षगाँठको अवसरमा उपलव्धीहरू सार्वजनिक गर्दै जलविद्युत लगानीमा मुख्य ध्यान दिएको समेत जनाएको छ ।
संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए । उनले संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी १८ करोड १० लाख २० हजार रहेको जानकारी दिए ।
यो आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरिएको जनाउँदै उनले एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको बताए । ०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै शर्माले दीर्घकालीन परियोजनाहरूमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूंजी र दुई अर्ब ऋण लगानी गरेको बताए । जलविद्युत लगानी तथा विकास कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको जनाएको छ ।
संस्थानको संस्थापक शेयर धनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेड रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत रहेको छ । संस्थानको आफ्नो सेयर पूँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिसन नै संस्थानको आर्थिक श्रोतको आधार रहेको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे । राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने बताए । बीमा अभिकर्ताको भूमिकालाई पनि परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने भन्दै उनले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्ने उनको भनाई थियो ।
संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।










-1754206481.jpg)