Kathmandu Press

‘संगीत मनलाई एकाग्र बनाउने माध्यम हो’

उत्कृष्ट संगीत सिर्जना गरी नेपालीपन वा नेपाली मनलाई जित्दै जाने र यस क्षेत्रमा आउन चाहनेहरूका लागि भरपर्दो आधारस्तम्भ निर्माण गर्ने योजना रहेको पाँचथरको कुरुम्बामा ३० को दशकतिर उदाएका रोशन बान्तवा राई बताउँछन्।
‘संगीत मनलाई एकाग्र बनाउने माध्यम हो’

‘साहित्यसंगीतकलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः 
तृणं न खादन्नपि जीवनमानः तद्भागधेयं परमं पशूनाम्’

अर्थात् साहित्य, संगीत र कला नभएको मानिस पुच्छर र सिङ नभए पनि साक्षात् पशुसमान हुन्छ। साथै घाँस नखाई बाँचे पनि त्यस्तो मानिसको जीवनको आधा भागचाहिँ परमपशुकै हो। संस्कृतको यही भनाइले प्रभावित भई साहित्य र संगीतभित्रको रहस्य खोतल्ने क्रममै नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित संगीतकारका रूपमा आफ्नो परिचय बनाउन सफल पाँचथरको कुरुम्बामा ३० को दशकतिर उदाएका रोशन बान्तवा राई अहिले श्रोता र दर्शकमाझ औधि माया पाउन सफल छन्।

कुरुम्बाको प्रकृतिसँग लुकामारी खेल्दै बाल्यकाल बिताएका उनी त्यहाँका पाखापखेरा, छाँगाछहरामा चिप्लेटी खेलेको, उकालीओराली अनि भन्ज्याङ चौतारीमा रमाएको, गिरीशिखरका तरेलीमा परेली झिम्क्याउँदै चराचुरुङ्गीको कलरवसँगै गुनगुनाएको, सल्लीपिर तथा पत्करमा लडीबुडी गर्दै स्वच्छ तथा सुन्दर प्रकृतिको काखमा मोहित हुँदै भावनामा रमाएका सुमधुर र अविस्मरणीय क्षणलाई सम्झन्छन् अनि प्यारो प्राकृतिक वातावरणमा मनभित्रका उद्वेलित भावनाहरू मुखरित हुँदाका क्षणमा संगीत सिर्जना भएको अर्को मनमोहक परिवेशलाई याद गर्दै भन्छन्, ‘गीतसंगीत क्षेत्रको आसक्ति वा लगाव उही पृष्ठभूमि हो, जुन बाल्यकालमा एक अभूतपूर्व रङ्गीन सपना थियो।’ 

Hardik ivf

1708620227444-1708761714.jpg

२०५६ सालदेखि संगीत यात्रा सुरु गरेका राई गितार, हार्मोनियम, मादल, बाँसुरी घरमै भएकाले र स्कुलमा पनि साङ्गीतिक वातावरण पाएकाले यसै क्षेत्रलाई रोजेर केवल व्यावसायिक रूपमा मात्र नलिई आफ्नो मौलिक परम्परा उजागर, जोगाउन गीतसंगीतको क्षेत्रमा डुब्न पुगेको बताउँछन्। ‘नेपाली गीतसंगीत क्षेत्रलाई समृद्ध र युवापुस्तामाझ लोकप्रिय बनाउन साहित्य क्षेत्रमै आमूल परिवर्तन गर्नुपर्छ किनकि साहित्यबिना संगीत बन्दैन। साहित्यमा उल्लिखित शब्दशक्ति, रसमाधुर्य, शब्दालङ्कार, अर्थालङ्कारलगायत संगीतमा मीठामीठा शब्द र शैलीको अभाव छ। शास्त्रीय संगीतको अभाव देखिएकाले  गायकगायिकामा गहिरो साधना अनि अध्ययन र निखारपन चाहिन्छ, अभ्यास धेरै गर्नुपर्छ,’ गीतसंगीतलाई मनमस्तिष्कमा जीवन्त सजाउने र पूर्ण जीवनलाई नै संगीतको रसरङ्गमा आफ्ना भावना मगमगाउने सपना बोकेका उनको पछिल्लो भेटको भनाइ हो यो। 

1708620227430-1708761714.jpg

काठमाडौंलाई कर्मथलो बनाई संगीत साधनामा अनवरत तल्लीन उनी संगीत र साधना नै जीवनको कसी हो भन्छन्। ‘जीवन र संगीत एकअर्काका पूरक हुन्, संगीत मनलाई एकाग्र बनाउने महत्वपूर्ण माध्यम हो, लगाम चुँडिएर बहकिएको मनलाई स्थिर बनाउने, पीडा, वेदना र बिछोडले तड्पिएको, धमिलिएको अनि भौंतारिएको मानवमनलाई सङ्ल्याएर, डो¥याएर जीवनको अन्तिम गोरेटोसम्म पुर्‍याउने, धेरैका लागि अधुरो जीवनमा प्रेमको बहार वा रामरमिता ल्याई जीवनलाई सार्थकता प्रदान गर्ने माध्यम पनि संगीत नै हो,’ उनी भन्छन्, ‘जीवन भएरै त संगीतको औचित्य छ र संगीत भएर नै त जीवनको सार भेटिएको छ।’

हो, अनन्य संगीतप्रेमी राईका यी गहन विचारले नेपाली सांगीतिक क्षेत्र नै कृतार्थ बनेको छ र तिनै विचारले उनलाई अग्रस्थानमा राखेका छन्। उनले विभिन्न भाषाका लोकगीत, आधुनिक गीत र चलचित्रका गीत गरी झन्डै पाँच सयभन्दा बढी गीतमा संगीत भरेका छन्। बजारमा ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘ढाका टोपी मैलो’, ‘हरियाली वसन्तले’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘धरानै बजार’, ‘डुबेँ डुबेँ’, ‘याद’, ‘हाम्रो गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’, ‘आज भन्दै भोलि भन्दै’, ‘जस्तो छ विशाल आकाश,’ ‘मिठो बोली दिल खोली,’ ‘भगवान् रैछन् पुर्खाहरू,’ ‘रोज्न खोज्छ यो मन,’ ‘डुबेँ डुबेँ,’ ‘फुरुरु पुतली,’ ‘निधारमा टीका छ’लगायत उनका लोकप्रिय गीतहरूले उनलाई उचाइ प्रदान गरेका छन्, श्रोतामाझ लोकप्रियता प्रदान गरेका छन्।

हाल म्युजिक एरेन्जरको रूपमा रहेका उनी ‘रोशन बान्तवा अफिसियल यु-ट्युब’ च्यानलमार्फत गिटार क्लासहरू सञ्चालन गरिरहेका भेटिन्छन्। वेस्टर्न क्लासिक गिटारिस्टमा ग्र्याजुएट राईले चलचित्रमा पाश्र्व संगीतका साथै धेरै गीतसंगीत सिर्जना गरेका छन्। नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित गायकगायिका मेलिना राई, धीरज राई, प्राश्ना शाक्य, रिमा गुरुङ, टीका शेर्पालगायतको स्वरमा संगीत भरेका रोशन बान्तवा राईले चलचित्रहरू लवकुश, वन वे, अदालत, सिम्मा, साइमा, तलास-१, तलास-२ र आउँदै गरेको पापी मान्छे-२ का गीतहरूमा संगीत भर्नसमेत भ्याएका छन्। उनले लोकप्रिय गीत तथा कर्ड सङ्ग्रह हिन्दी, नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिसकेका छन्।

‘गिटार सोलुसन पहिलो संस्करण-२०५८’, लोकप्रिय गीत तथा कर्ड संग्रह-२०५९’, ‘गितार सोलुसन दोस्रो सङ्ग्रह-२०६१,’ ‘लोकप्रिय गीत तथा कर्ड संग्रह-२०६२’, ‘किबोर्ड गाइड-२०६३’, ‘पपुलर सङ्स एन्ड गितार कर्ड ग्यालरी-२०६८’, ‘सजिलो गितार गाइड-२०७३’, ‘किबोर्ड गाइड दोस्रो संस्करण-२०७४’, उनका प्रकाशित कृतिहरू हुन्। 

roshan-bantawa-rai-1708761699.jpg

कला र गलाले मानिसलाई उचाइ प्रदान गर्ने र भएकाले यसका लागि साधनामै जोडबल गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने संगीतकार राईले थुप्रै मानसम्मान र अवार्ड पाइसकेका छन्। उनी ‘बेस्ट अमेरिकन म्युजिसियन अफ दि इयर-२०२२’, ‘बेस्ट संगीतकार नेसनल आर्टिस्ट अवार्ड-२०७९’, ‘बेस्ट संगीतकार तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड-२०२३’, ‘बेस्ट संगीतकार तेस्रो सगरमाथा म्युजिक अवार्ड-२०२३’ जस्ता अवार्डद्वारा सम्मानित भइसकेका छन्। हाल काठमाडौंको भोटाहिटीमा संगीत विद्यालय स्थापना गरी गिटार प्रशिक्षकका रूपमा रहेका उनीसँग अक्षरा म्युजिक टिममा मुस्कुराउँदै संगीत भरिरहेको अवस्थामा साक्षात्कार हुन पुग्यो।  नेपाली गीतसंगीतको फाँटमा अनवरत साधकका रूपमा देखिएका राई गीतसंगीतकै क्षेत्रमा समर्पित भई आफूलाई व्यस्त बनाइरहेको बताउँछन्। 

भेटमा उनले भने, ‘नाम र दाम कमाउने गतिलो माध्यम भए पनि यो क्षेत्र चुनौती र अवसर दुवैले भरिपूर्ण छ। यसका लागि सिर्जनशीलता र कडा मिहिनेत भने जरुरी छ।’ नेपाली संगीत क्षेत्रलाई धनी बनाउन परिवर्तनको खाँचो रहेको उनको धारणा छ। 
संगीत विद्यालय खोलेर प्रशिक्षणमा तल्लीन उनी आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धिरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिने अवसर मिलेको बताउँछन्। ‘भावी पुस्तालाई मौलिक गीतसंगीततिर आकर्षित गर्नु हामी सबैको कर्तव्य हो, मौलिक गीतसंगीतको महत्व बताउँदै विभिन्न चाडपर्व, मेलापात, मेलामहोत्सवमा मौलिकतालाई प्राथमिकता दिनुपर्छ,’ उनी भन्छन्, ‘वर्तमान नयाँ पुस्ता आयातित संस्कृतिमा रमाउन थालेसँगै पप, रक, र्‍यापआदि गीतसंगीतले पनि प्राथमिकता पाएको छ।’

नेपाली गीतसंगीत विविधताले भरिपूर्ण छ। देशको पूर्वमा मारुनी, बालन, हाकपारे, लैबरी लै लै, पालाम, मध्यमा काठे, सेलो भाकादेखि पश्चिममा रोधी हुँदै देउडा भाका घन्किरहन्छन्। तर, यी मौलिक भाकाहरूप्रति चासो नहुँदा तथा खोजअनुसन्धान र संरक्षण तथा संवद्र्धन हुन नसक्दा हाम्रा मौलिक मेलामहोत्सवमा पप, रक, र्‍याप र सुगम संगीतले स्थान पाएको उनको भनाइ छ।
उनले गिटार, पियानो र कर्डहरू गरी ६ वटा उपयोगी किताब लेखेका छन्।

roshan-bantawa-rai-123-1708761699.jpg

देशका धेरैैजसो म्युजिकल इन्स्टिच्युट र विद्यालय-महाविद्यालयमा यी किताबबाट प्रशिक्षण दिइन्छ। संगीत जीवनको एउटा पाटो भएकाले जीवन र संगीत आपसमा सम्बन्धित रहेको बताउँछन् उनी। ‘स्वस्थ जीवनका लागि संगीत अचुक औषधि हो। संगीतविना घाँसदाउरा गर्दा होस् या मेलापात या उत्सव-महोत्सव, जाग्राम सबैमा खल्लो महसुस हुन्छ,’ उनी भन्छन्, ‘बुढाबुढीलाई पनि भजनकिर्तनका रूपमा संगीतले जोडेको छ, युवायुवती, बालबालिका सबैलाई बिहे, व्रतबन्ध, जाग्राम, चाडपर्व, वनभात आदि कार्यक्रममा रमाउन, झुम्न र भत्किएको मनलाई बहलाउन संगीत नै चाहिन्छ।’ 

उत्कृष्ट संगीत सिर्जना गरी नेपालीपन वा नेपाली मनलाई जित्दै जाने र यस क्षेत्रमा आउन चाहनेहरूका लागि भरपर्दो आधारस्तम्भ निर्माण गर्ने योजना रहेको उनी बताउँछन्। नेपाली भाषा, कला, साहित्य, संस्कृति सबै हाम्रा वैभव भएकाले तिनको प्रवद्र्धनमा लाग्नुपर्ने उनको धारणा छ।  यसरी गीतसंगीतको क्षेत्रलाई असाध्यै ममता खन्याएर नेपाली मौलिक बाजा र स्वरसंगीतको संरक्षण र संवद्र्धन गर्नुपर्ने जीवनकै लक्ष्यका साथ जीवनको गोरेटोमा अघि बढेका रोशन देख्दा गम्भीर, थोरै बोल्छन् तर गीतसंगीतका कुरा निकाल्नेबित्तिकै दन्तलहर खोलेर मुस्कुराउँछन् र आँखाको हेराइ र ओठको सलबलाइका साथै मुस्कानबाटै सम्पूर्ण भाव पोख्छन् अनि जसलाई भेट्दा पनि हाई..., हेलो... छोडेर अभिवादनमा भन्छन्- ‘जय संगीत !’

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्