दुई सिरिजका लागि नेपाली टिम : पवन, सूर्य, अनिल र देवको पुनरागमन, आकाश, हेमन्त र रिजनलाई मौका
क्यानले दुवै सिरिजका लागि भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियाेगिता र यू–१९ विश्वकपमा गरेको प्रदर्शनका आधारमा टिम छनोट गरेको छ।काठमाडाैं, माघ २१ : नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आईसिसी विश्वकप लिग–२को पहिलो र क्यानडाविरुद्धको बाइल्याट्रल सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ।
क्यानले आइतबार साँझ लिग–२को पहिलो सिरिज र क्यानडाविरुद्धको सिरिजका लागि छुट्टा छुट्टै १५ सदस्यीय टिम घोषणा गरेको छ। क्यानले दुवै सिरिजका लागि भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियाेगिता र यू–१९ विश्वकपमा गरेको प्रदर्शनका आधारमा टिम छनोट गरेको छ।
क्यानले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका सूर्य तामाङ, पवन सर्राफ, अनिल साह र रिजन ढकाललाई टिममा समावेश गरेको छ। पिएम कपमा कुल ३० विकेट लिएका बागमती प्रदेशका सूर्य प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर हुन भने मधेश प्रदेशका अनिल उत्कृष्ट ब्याट्सम्यान हुन्। यस्तै, पवनले प्रतियोगितामा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने रिजनले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिश जिसीलाई रिप्लेस गर्दै टिममा स्थान बनाए।
पवन, अनिल र सूर्यले नेपाली राष्ट्रिय टिममा पुनरागमन गर्दा रिजनले पहिलो पटक टिममा स्थान बनाएका हुन्। यी चारमध्ये पवन, सूर्य र रिजन दुवै सिरिजमा छन् भने अनिल क्यानडाविरुद्धको सिरिजमा टिममा रहँदा लिग–२को सिरिजमा वैकल्पिक खेलाडीका रुपमा छन्।
यस्तै, यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेक कप्तान देव खनाल र फास्ट बलर आकाश चन्दले पनि टिममा स्थान बाएका छन्। यस्तै, नेपाल यू–१९ विश्वकपमा पु¥याउन उत्कृष्ट भूमिका खेले पनि चोटका कारण विश्वकप गुमाएका अर्का फास्ट बलर हेमन्त धामीले पनि मौका पाएका छन्।
यी तीनै जनालाई क्यानडाविरुद्धको सिरिजमा टिममा राखिएको छ। यस्तै, देव लिग–२को सिरिजमा वैकल्पिक खेलाडीका रुपमा छन्।
क्यानले सूर्य, पवन, रिजनसँगै कप्तान रोहितकुमार पौडेल, आरिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी र ललित राजवंशीलाई दुवै सिरिजमा राखेको छ। यस्तै, अनिल, देव, हेमन्त र आकाश क्यानडाविरुद्धको सिरिजमा मात्रै टिममा रहँदा, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, अर्जुन साउद, गुल्सन झा र करण केसी लिग–२को सिरिजमा मात्र टिममा छन्।
क्यानले लिग–२को सिरिजका लागि ४ खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। जसमा देव, अनिलसँगै प्रतिश जिसी र विवेक यादव छन्।
नेपालले घरेलु मैदानमा क्यानडासँग फेब्रुअरी ८ र १२ मा २ खेल खेल्ने छ। यस्तै, लिग–२को नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको सिरिज फेब्रुअरी १५ देखि २४ सम्म हुनेछ।