‘कोरोना भाइरसको जाँच नेपालमा राम्रोसँग भएकै छैन’
कोरोना भाइरस विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले एक सय २७ देशमा देखिएको छ।
कोरोना भाइरस विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले एक सय २७ देशमा देखिएको छ।
कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नजिकै रहेको नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा अहिलेसम्म एक जनामा मात्रै कोरोना भाइरसकाे संक्रमण देखिएपनि महामारीका रुपमा फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ।
यही विषयमा अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयमा चिकित्सा समाजशास्त्रको प्राध्यापन गर्दै आएका अमोद प्याकुरेलसँग काठमाडौं प्रेसका लागि सोनी शाहीले गरेको कुराकानी :
-विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकाे संक्रमणलाई महामारी घोषणा गरेको छ। यसको अर्थ के हो?
कुनै पनि रोग अनियन्त्रित रुपमा फैलिन्छ भने त्यसैलाई महामारी भनिन्छ। अहिले कोरोना जुन गतिमा विश्वभर फैलिएको छ, यसलाई नै खासमा महामारी भनिन्छ।
-कोरोना भाइरसलाई महामारी घोषणा गर्नुको कारण के हो?
कोरोना भाइरस भनेको नयाँ रोग हो। यसको प्रकृति कस्तो हो भन्ने विषय अनुसन्धानकै क्रममा छ। विश्वव्यापी रुपमै यो भाइरस तीव्र रुपमा फैलिसकेको र यसलाई नियन्त्रण गर्न नसकिएकाले विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको हो।
चीनबाट कोरोना भाइरसको संक्रमण सुरू भएर छोटो समयमा सबैतिर फैलियो। त्यसपछि इरान, इटाली र दक्षिण कोरियामा सबैभन्दा धेरै संक्रमण भएको पुष्टि भयो। अहिले एक सय २७ देशमा कोरोना भाइरसको प्रकोप बढेको र मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएकै कारणले पनि यसलाई महामारी घोषणा गरिएको हो।
तसर्थ अहिले कोरोना भाइरसको संकट अर्को चरणमा पुगिसकेको छ। यसकाे विश्वव्यापी खतरा पनि बढ्दै गएको छ। तत्कालै नियन्त्रणका लागि सरकार र सम्बन्धित निकायले कदम चाल्न जरूरी छ।
कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरूले नियन्त्रणका लागि के गर्नुपर्छ?
सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण हुनुभन्दा अघि नै सतर्कता अपनाउनुपर्छ। सम्बन्धित निकायले जनचेतना फैलाउने, आर्थिक, सामाजिक र व्यक्तिगत रुपमा सबल बनाउने, सरकारले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर नीति बनाउने लगायतका कार्यबाट कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
अहिले पनि जनमानसमा त्रास पैदा गर्ने तरिकाले समाचारहरु प्रकाशन/प्रशारण भइरहेका छन्। कसैले नेपालमा आइसकेको त छैन नी भन्ने कुराहरू पनि गर्छन्। तर, कोरोना भाइरस लागेपछि उपचार गरौंला भन्नु मुर्खता हो। यो भाइरस तीव्र रुपमा सर्ने भएकाले यसको संक्रमण देखिनु अगाडि नै आवश्यक सतर्कता अपनाउनु पर्छ।
सुरूमा पश्चिमी मुलुकमा पनि कोरोना भाइरसलाई खासै वास्ता गरिएको थिएन। तर, अहिले योसँग सम्बन्धित हरेक कुरालाई सावधानीपूर्ण ढंगमा लिन थालिएको छ।
सरकारमा निर्भर हुनुभन्दा पनि व्यक्तिगत सतर्कता अपनाउनु अझ उपयुक्त हुन्छ। कोरोना भाइरसको नियन्त्रणका लागि आफ्नाे स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्छ। नियमित हात धुने, माक्स लगाउने, भिडभाडमा नजाने, लक्षणहरू देखा परेमा चिकित्सकको सल्लाह लिने, आवश्यक परेमा सेल्फ क्वारेन्टाइनमा बस्ने लगायतका कार्यहरू गर्न जरुरी छ।
सरकारले कोरोना भाइरसले निम्त्याउन सक्ने अन्य संकटहरूको गृहकार्य गरेर त्यसका लागि आवश्यक नीति र पूर्वाधार तयार गर्नेतर्फ लाग्नुपर्छ।
कोरोना भाइरसको रोकथाम वा संक्रमण रोक्न मिडियाको भूमिका कस्तो देखिएको छ?
मिडियाको भूमिकालाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेर्न सकिन्छ। सामाजिक सञ्जालको जमानामा हरेक मानिसले मिडियाको भूमिका खेलेको हुन्छ। तर, कतिपय मिडियाहरूले सीमित स्वार्थका लागि केही हल्लालाई पनि बढवा दिएको पाइन्छ। कोरोना भाइरसको सन्दर्भमा पनि यस्ता कुराहरु दोहोरिएको देखिन्छ।
सुरूमा चिनियाँहरुले जे पायो, त्यै खाने भएकाले यो रोग आएको भन्ने जातीय विभेदको अफवाह फैलिएको थियो। तर, अहिले यो रोग विश्वव्यापी रुपमै फैलिरहेको छ।
त्यस्तै, लसुनपानी खाएमा यो रोग नलाग्ने, अल्कोहल सेवन गरेमा नसर्ने लगायतका हल्लाहरु फैलिए। तर, अहिले त्यो सबै साँचो होइन भन्ने पुष्टि भएका छन्। जुन विषय सुरूमा मिडियाले नै ल्याए र अहिले मिडियाबाटै त्याे गलत भन्ने पुष्टि पनि भइरहेकाे छ।
यस्ता विषयहरूले सर्वसाधारणमा भ्रम मात्र पैदा गरेको छैन, उनीहरूमा एक प्रकारको त्रास फैलाएको छ। जबकि मिडियाले आधिकारिक तथ्यहरूलाई सर्वसाधारण समक्ष फैलाउन सक्षम हुनुपर्दथ्यो। तसर्थ, आगामी दिनमा पनि यस्ता सनसनी फैलाउने र नकारात्मक सन्देश प्रवाह नगरी सही र तथ्यपरक समाचारहरू प्रकाशन/प्रशारण गर्नतर्फ मिडिया चनाखो हुनुपर्छ।
नेपालमा कोरोनाको जोखिम कत्तिको छ?
अहिले नेपालमा कोरोना भाइरस सर्दैन भन्ने अफवाह फैलिएको छ, जुन सरासर गलत हो। विश्व स्वास्थ्य संगठनले नै नेपाललाई उच्च जोखिममा सूचीकृत गरिसकेको छ। साथै छिमेकी राष्ट्रहरूमा समेत यसको प्रकोप बढिरहेको हुँदा नेपालमा यो भाएरस आउँदैन नै भन्न सकिने अवस्था छैन।
हालसम्म जुन-जुन देशमा कोरोना भाइरसले भयावह रुप लिएको छ, ती देशमा नेपाली पनि छन्। साथै, नाका र हवाइ मार्गमा कडाइ गर्नुअघि नेपालमा उनीहरूको आवतजावत भइरहेकाले पनि यो भाइरस फैलिने खतरा बढी छ। तसर्थ नेपालमा कोरोना भाइरस आउँदैन भनेर ढुक्क हुने अवस्था छैन।
नेपालमा कोरोना भाइरस अहिलेसम्म नदेखिनुको कारण के हो?
एक हिसाबले कोरोना भाइरस नेपालमा नदेखिनु राम्रै पक्ष हो। तर, अर्कोतर्फ नदेखिनुको कारण के हो भनेर औँल्याउन गाह्रो छ। मेरो विचारमा हालसम्म राम्रो चेकजाँच नै नभएको वा पहिचान नै नभएको हो कि भन्ने कुरामा आशंका छ।
कोरोना भाइरसको उपचारको विश्वव्यापी अवस्था के छ?
विश्वव्यापी रुपमा जहिल्यै पनि कुनै न कुनै रोग वा भाइरसका लागि अध्ययन अनुसन्धानहरू चलिरहन्छ। तर, यसको प्रकृति भने परिवर्तन हुन्छ। केही अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको भ्याक्सिन बन्न अझै डेढ वर्ष लाग्न सक्ने अनुमान गरेका छन् भने केहीले दुई महिनामा तयार पार्ने भनेका छन्।
तर, ठ्याक्कै यति समयमा कोरोना भाइरसको औषधि बन्छ भनेर कसैले पनि जिम्मा लिएको अवस्था छैन।
कोरोना भाइरसको प्रकोपको विश्वव्यापी प्रभाव कस्तो हुन सक्छ?
चीनमा कोरोना भाइरसले महामारीको रुप लिए लगत्तै यो विश्वव्यापी रुपमा फैलियो। यसको नियन्त्रणका लागि सर्वप्रथम हवाइ यात्रामा कडाइ गरिएको थियो। जसका कारण विश्वभर करिब ७० देखि एक सय ३३ विलियन अमेरिकी डलरसम्म घाटा हुने सम्भावना रहेको एक तथ्यांकले देखाएको छ।
हाल कतिपय विमान कम्पनीलाई रोक्नै पर्ने अवस्थासमेत सिर्जना भइसकेको छ। तसर्थ कोरोना भाइरस महामारीकै रुपमा फैलिन थालेकाले यसले अझै कतिसम्म धनजनको क्षति पुर्याउँला भन्ने कुराको अनुमान गर्ने सकिने अवस्था छैन। तर, हाल कोरोना भाइरस जुन गतिमा फैलिरहेको छ, यसले भविष्यमा ठूलो आर्थिक संकट ल्याउन सक्ने विज्ञहरुको अनुमान छ।
गर्मी मौसममा कोरोना भाइरस संक्रमण हुँदैन भन्ने कुरा साँचो हो?
गर्मी मौसममा कोरोना भाइरस नसर्ने विषयमा वैज्ञानिकहरूको फरक-फरक मत छ। धेरै वैज्ञानिकहरूमा अर्को महिनासम्म मात्र कोरोना भाइरस सक्रिय रहन्छ भन्ने धारणा छ। त्यसपछि क्रमशः यसको संक्रमण घट्छ भन्ने विश्वास छ।
तर, केही वैज्ञानिकहरूले भने हालसम्म पनि यो रोगको प्रकृति पूर्ण रूपमा पत्ता नलागेको हुँदा यो भाइरस कहिलेसम्म सक्रिय रहन्छ भन्ने तथ्य प्रमाण नरहेको बताइरहेका छन्।