सावित्रा फ्रेन्च क्लबमा अनुबन्धित
मेडिकल पास भएपछि औपचारिक क्लबले सावित्राको अनुबन्धनको औपचारिक घोषणा गरेको हो।काठमाडाैं, माघ १९ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च क्लबमा अनुबन्धित भएकी छिन्। सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पमा आबद्ध भएकी छिन्।
मेडिकल पास भएपछि औपचारिक क्लबले सावित्राको अनुबन्धनको औपचारिक घोषणा गरेको हो। उसले फेसबुक पेजमा सावित्रको भिडियो पोस्ट गर्दै उनी क्लबमा आबद्ध भएको जनाएको छ। सावित्रा मेडिकल परीक्षणका लागि केही अघि फ्रान्स पुगेकी थिइन्।
सात्रिवा युरोपिनय फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। दक्षिण एसियाकै स्टार खेलाडी सावित्राले यसअघि हापोएल रानानाबाट इजरायलको लिग खेलेकी थिइन्। इजरायल–हमास युद्धका लिग रोकिएपछि उनले केही खेल मात्र खेल्ने अवसर पाएकी थिइन्।
लिग वान महिला लिग युरोपकै उत्कृष्ट लिग मध्ये एक हो। अहिले ग्वेङगाम्प लिग तालिकाको दसौं स्थानमा छ । क्लबले १२ खेलमा ८ अंक जोडेको छ ।
इन्डियन्स वुमेन्स लिगमा सनसनी मच्चाएपछि उनकाे युराेपकाे बाटाे खुलेकाे हाे। उनले २०२२-२३ को सिजनमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहासमेत रचेकी थिइन्।
३ सिजनमात्र इन्डियन्स वुमेन्स लिग खेलेकी साम्बाको नाममा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत रहेको छ। उनले इन्डियन वुमेन्स लिगमा ५९ गोल गरेकी छिन् । उनीपछि ४ सिजन खेलेकी बाला देवीको नाममा ४८ गोल रहेको छ ।