दीपेन्द्रले ७ विकेट लिँदा पुलिस अपराजित रहँदै फाइनलमा
बिहीबार मुलपानी क्रिकेट मैदानमा दीपेन्द्रले ७ विकेट र ४४ रन बनाएपछि लिगको अन्तिम खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हरायो।काठमाडाैं, माघ १८ : कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल पुलिस क्लब अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मुलपानी क्रिकेट मैदानमा दीपेन्द्रले ७ विकेट र ४४ रन बनाएपछि लिगको अन्तिम खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हरायो।
पुलिस लिगका सबै ९ खेल जित्दै फाइनल पुग्यो। पुलिस लिगमा अपराजित रहने एक्लो टिम हो। अब उसले उपाधिका लागि शनिबार अर्को विभागीय टिम त्रिभुनव आर्मीको सामाना गर्ने छ। सुदूरपश्चिम भने ८ अंकसहित छैठौं स्थानमा रह्यो।
पुलिसले दिएको १९८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.१ ओभरमा १२० रनमै अलआउट भयो। उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाउँदा किरण ठगुन्ना र नरेन साउदले समाउन २४ रन बनाए।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे। उनले १० ओभरमा ४ मेडनसहित २० रन खर्चेर ७ विकेट लिए। यस्तै, सागर ढकाल, ललित भण्डारी र ललित राजवंशीले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पुलिस ४७.५ १९८ रनमा अलआउट भयो। उसका लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए। उनले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै, दीपेन्द्रले ३८ बलमा ५ चौका र १ छक्का मद्दतमा ४४ रन बनाउँदा अर्जुन साउदले ३२ र आरिफ सेखले २६ रनको योगदान दिए।
सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहराले समान २ विकेट लिए।