ब्याटिङ नचल्दा नेपाल पराजित, सुवासले लिए ५ विकेट
बुधबार दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो।काठमाडाैं, माघ १७ : ब्याटिङ नचल्दा नेपाल यू–१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा पराजित भएको छ। बुधबार दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो।
नेपालले दिएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि अरिफुल इस्लम र जिसन आलमले अर्धशतक बनाए। इस्लमले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए।
यस्तै, आलमले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए। यस्तै, अशिकुर सिब्लीले १६ र अर्हर अमिनले १२ रन बनाए।
बलिङमा नेपालका अफस्पिनर सुवास भण्डारीले उत्कृष्ट बलिङ गरे। बंगालदेशका पाँचै विकेट उनको नाममा रह्यो। उनले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए। प्रतियोगिमा एकै खेलमा ५ विकेट लिए उनी दोस्रो नेपाली बलर हुन्। यसअघि अफगानिस्तानविरुद्ध आकाश चन्दले यो उपलब्धि हासिल गरेका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए। उनले १०० बलमा ६ चौका प्रहार गरे। यस्तै, कप्तान देव खनालले ३० बलमा ३ चौका प्रहार गर्दै ३५ रन बनाए। यी दुईले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए।
यस्तै, सुवास भण्डारीले ३४ बलमा १८ रन बनाउँदा अर्जुन कुमालले २६ बलमा १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपालको सिनियर टिमका नियमित सदस्य गुल्सन झा विश्वकपमा लगातार चौथो खेलमा फ्लप भए। उनले ३ रन मात्र बनाउन सके।
नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका रोहनत बोर्सनले ८।५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। यस्तै, शेख पवेज जिवोनले ३ विकेट लिए।
सुपर सिक्स खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुग्न असफल भइसकेको थियो। भारत र पाकिस्तानले सुपर सिक्सको पहिलो खेल जितेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना् सकिएको थियो।
यो जितसँगै बंगलादेशको भने सेमिफाइनल पुग्ने सम्भावना बाँकी नै रहेको छ। अब उसले अन्तिम खेलमा पाकिस्तानलाई हराउन सकेन ऊ सेमिफाइनलमा पुग्ने छ।