आसिफको शतकका बाबजुद एपिएफ कर्णालीसँग पराजित, शीर्ष चारमा पुग्न असफल
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा आसिफको शतकका बाबजुद एपिएफ कर्णाली प्रदेशसँग २१ रनले पराजित भयो।काठमाडाैं, माघ १७ : ओपनर आसिफ सेखको शतकका बाबजुद विभागीय टिम एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा आसिफको शतकका बाबजुद एपिएफ कर्णाली प्रदेशसँग २१ रनले पराजित भयो।
यो हासँगै एपिएफ प्रतियोगिताको शीर्ष चारबाट बाहिरिएको छ। योसँगै उसले एलिट कप खेल्न नपाउने भएको छ। ३ तीने दिने प्रतियोगिता अब विभागी टिम पुलिस क्लब, त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेशले खेल्ने छन्।
एपिएफ ९ खेलमा १० अंक जोड्दै पाँचौं स्थानमा छ। ७ खेलमा अपराजित रहेको पुलिस १४ अंकसहित शीर्ष स्थानमा छ भने आर्मी, बामगती र मधेश समान १२ अंकसहित शीर्ष चारमा छन्। आर्मीले १ खेल खेल्न बाँकी छ।
कर्णालीले दिएको २०७ रनको मध्यम लक्ष्य पछ्याएको एपिएफ ४३.३ ओभरमा १८५ रनमै अलआउट भयो। उसका लागि आसिफले ११२ बलमा १०८ रन बनाए। उनले १० चौका र २ छक्का प्रहार गर।
यस्तै, अमरसिंह रौटेलाले २८, कप्तान रोहितकुमार पौडेलले १४ र लोकश बमले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
एपिएफलाई पराजित गर्ने क्रममा कर्णालीका प्रकाश जैशीले ३ ओभरमा २ मेडनसहित ९ रन मात्रै खर्चेर ४ विकेट लिए। उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए। यस्तै, दीपेन्द्र रावत र युनिस सिंहले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्ती र हिमांशु शाहीको अर्धशतक मद्दतमा ४४.१ ओभरमा अलआउट हुँदै २०६ रन बनाएको थियो। कर्णलीले आफ्नो इनिङमा १४ छक्का प्रहार गरेको थियो।
हिमांशुले सर्वाधिक ६२ रन बनाए। उनले ५० बलमा २ चौका र ७ छक्का प्रहार प्रहार गरेका थिए। यस्तै, ७४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अर्जुनले ५३ रन बनाए। यी दुईले चौथो विकेटका लागि १११ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
यस्तै, प्रकाश जैसीले २७, रविन्द्र शाहीले २२ र दिनेश अधिकारीले १९ रन बनाए। एपिएफका मौसम ढकालले ३ तथा रौटेलाले २ विकेट लिए।