जिबी राईविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस
सहकारीका ५० हजारभन्दा धेरै बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) डिफ्युजन नोटिस जारी गरेको हो।
काठमाडौं, माघ १४ : सहकारी ठगी प्रकरणमा जोडिएका ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
सहकारीका ५० हजारभन्दा धेरै बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) डिफ्युजन नोटिस जारी गरेको हो। इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।
राईले पोखराको सूर्यदर्शन सहकारीको मात्रै एक अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ। उक्त सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो।
अब उनी इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा समेटिएका छन्।
प्रहरीले राईसहित सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र हालका अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध पनि नोटिस जारी गर्न अनुरोध गरेको छ। राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।
राईले पोखराको सूर्यदर्शन र चितवनको सहारामा जस्तै वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर हजारौँ सर्वसाधारणको बचत हिनामिना गरेको आरोप छ।












