नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद
उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने बताए।
काठमाडौं, माघ १३ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढंगबाट अघि बढिरहेको बताएका छन्।
भारतको ७५औं गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आयोजित कार्यक्रममा उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने बताए।
‘दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ,’ उनले भने। दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उनले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याए।
परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताए।
‘नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । दुई देशबीच सदियौं पुरानो अन्योन्याश्रित सम्बन्ध छ,’ उलने भने, ‘भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ।’
विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उल्लेख गरे।
त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगतरूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए।












