Kathmandu Press

माओवादी घटकबीच एकता अपरिहार्य : प्रधानमन्त्री

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे। 
माओवादी घटकबीच एकता अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं, माघ १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्। 

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे। 

'देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु', विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने। जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। 

Hardik ivf

'कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ', अध्यक्ष दाहालले भने, 'सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ।'

प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाउनुभयो। सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो। 

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे। शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे।नेपालको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि पनि अनुकरणीय रहेको उनले बताए। 

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले सहिदका सपना पूरा गर्न नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सहिदका बलिदानलाई आन्दोलनको वैचारिक केन्द्र बनाउनुपर्ने बताए। उनले मुलुकको परिवर्तनका लागि ज्यानको बाजी दिएका सहिदलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए। 

माओवादी केन्द्रका सचिव एवं प्रतिष्ठानका पूर्वअध्यक्ष हितराज पाण्डेले सहिदका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्क्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले सहिदको योगदान भावी पुस्ताका लागि ताजै राख्न सहिदका नाममा भौतिक संरचना निर्माण तथा अक्षय कोष खडा गर्नु उचित हुने धारणा राखे। 

बेपत्ता परिवार समाजका सल्लाहकार भीमबहादुर बस्नेतले जनयुद्धमा बेपत्ता भएका नागरिकको यथार्थ पत्ता लगाउन आग्रह गरे। उनले आफ्नो छोरा जनयुद्धका क्रममा बेपत्ता भएको जानकारी दिँदै बेपत्ता छोराको पत्ता नलगाई आफू नै बेपत्ता होइन्छ कि भन्ने लागेको गुनासो गरे। 

जनयुद्धका घाइते तथा बेपत्ता परिवार समाजका अध्यक्ष पासाङ शेर्पाले बेपत्ता नागरिकको अवस्था टुङ्गो नलाग्दा परिवारजनले कानुनी समस्या झेल्नु परेकातर्फ सरकारको ध्यानाकर्षण गराए। प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंले प्रतिष्ठानलाई एकताको केन्द्रबिन्दु बनाएर अगाडि बढाइने बताए। 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्