भाेलिदेखि धरहरासँगैको भवनमा निःशुल्क पार्किङ गर्न सकिने
महानगरपालिकाले धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र निःशुल्क पार्किङ उपलब्ध गराउन लागेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए।
काठमाडौं, माघ १३ : न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेर विरोधको सामना गरिरहेको र विकल्प खोजिरहेको काठमाडौं महानगरपालिकाले धरहरासँगैको भवन प्रयोगमा ल्याउने भएको छ।
धरहरासँगै पार्किङकै लागि निर्माण गरिएको भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन राख्न सकिने भएको छ।
महानगरपालिकाले धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र निःशुल्क पार्किङ उपलब्ध गराउन लागेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए। उनले साबिकको पुरानो बसपार्कमा बनेको काठमाडौं टावरमा पनि निःशुल्क पार्किङ सेवा उपलब्ध रहेको जानकारी दिए।
उनका अनुसार सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ। सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको उनको भनाइ छ।
संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो।












