विकास–निर्माणमा केन्द्रित हुनुपर्नेमा मन्त्री गुरुङको जोड
विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिइन्।
झापा, माघ १२ : सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छिन्।
मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० विगाह जमिन पालिका तथा संघसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताइन्।
विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गरे।
पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको जग्गासम्बन्धी तथ्यांकसहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गरिन्। उनले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गरिन्।