कांग्रेसले ७८औं स्थापना दिवस : अग्रज नेताहरूलाई सम्मान
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसले पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान पुराउने योग प्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो।
काठमाडाैं, माघ १२ : नेपाली कांग्रेसले ७८औं स्थापना दिवसका अवसरमा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान पुराउने अग्रज नेताहरुलाई सम्मान गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसले पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान पुराउने योग प्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो। कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान पुराउनेहरुलाई सदैव स्मरण गर्नुपर्ने बताए। उनले प्रजातान्त्रीक योद्धाहरुका बारेमा सवै नेपालीहरुलाई जानकारी गराउनुपर्ने धारणा राखे।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले देश निर्माणका लागि अग्रजहरुले खेलेको भूमिकाको स्मरण गर्दै अहिले देश निर्माणका लागि योजनाका साथ अघि बढ्नुपर्ने बेला आएको बताए।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले भुइँमा बसेके मान्छेलाई माथि उठाउने र देशको हितमा काम गर्ने कांग्रेसको दायित्व भएको बताए। शनिबारबाट कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने जानकारी दिदै उनले सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा निर्देशन दिए।
भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। स्थापना दिवस मनाए लगत्तै शनिबारबाट नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ। ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।












