Kathmandu Press

पिएम कप : ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा पुलिस

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो।
पिएम कप : ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा पुलिस

काठमाडौं, माघ १२ : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यो जितसँगै पुलिसले ६ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ।

कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन्। यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एकरएक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो। कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए। उनले एक सय सात बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका हुन्। यसैगरी कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाए।

पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एकरएक विकेट लिएका थिए।

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्